रिटर्नी माइग्रेन्ट विभाजित हुने अवस्थामा , सरकारी पैसा दुरुपयोग

yuwaa

 काठमाडौं । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले पदको दुरुपयोग गरेर आफ्ना गतिविधिहरूलाई चलाएपछि परिषद्भित्र असन्तुष्टि बढेको छ ।

 परिषद्लाई ढुंगेलले पूर्वएमालेको भ्रातृ संगठन जस्तै गरेर सञ्चालन गरेपछि असन्तुष्टि र आलोचना बढेको हो । परिषदको गतिविधि र कार्यक्रम सञ्चालनमा पनि ढुंगेलले अपरादर्शी बनाएर लाभ लिने गरेको स्रोतले जनाएको छ । विदेशबाट स्वदेश आएका युवाहरूलाई लक्षित गरेर ढुंगेलले परिषद्को रकम खर्च गरी ‘रिटर्नी माइग्रेन्ट नेपाल’ नामक संस्था स्थापना गरेका थिए ।

 यो संस्थामा पूर्वएमाले निकटका युवाहरू आबद्ध छन् ।
पूर्वएमालेको भ्रातृ संगठन जस्तै गरेर रिटर्नी माइग्रेन्ट नेपाललाई ढुंगेलले चलाउने गरेको आरोप छ । विदेशबाट स्वदेश फर्किएका युवाहरूलाई रिटर्नी माइग्रेन्टमा समावेश गरेर रोजगारीमा लगाउने भनिएको छ । तर, स्थापना हुँदादेखि नै रिटर्नी माइग्रेन्टलाई ढुंगेलले निकम्मा बनाएको आरोप छ ।

 रिटर्नी माइग्रेन्टलाई राजनीतिकमुक्त स्वतन्त्र संस्था बनाएर काम गर्ने आश्वासन दिइएपनि कांग्रेस निकटका युवाहरूलाई छेउछाउ पर्न नदिएपछि रिटर्नी माइग्रेन्ट नामक संस्था फुटको संघारमा पुगेको छ । नेपाली कांग्रेसका युवाहरूले रिटर्नी माइग्रेन्ट जस्तै अर्को संस्था बनाएर युवाहरूको पक्षमा काम गर्ने तयारी गरेका छन् ।

 अर्को संस्था बनाउनका लागि गृहकार्य समेत शुरु भइसकेको बुझिएको छ । ढुंगेलले रिटर्नी माइग्रेन्टको अध्यक्ष पूर्वएमाले निकटका व्यक्ति उत्तम अधिकारीलाई बनाएका छन् । अधिकारीले परिषद्का उपाध्यक्ष ढुंगेलको पीएले जस्तै काम गर्दै आएको नेपाली कांग्रेस निकटका युवाहरूले आरोप लगाउँदै आएका छन् ।

 रिटर्नी माइग्रेन्टमा आजीवन सदस्य बन्न ५ हजार लिने गरिन्छ । रिटर्नी माइग्रेन्टलाई स्वतन्त्र र सबै राजनीतिक अस्था राख्ने युवाहरूलाई समेट्ने भनिएको थियो । तर, अहिले नेकपाभन्दा बाहिरका युवाहरूलाई सहज रुपमा प्रवेश दिइएको छैन । भेदभाव गरिएको छ । भेदभाव गरिएपछि कांग्रेस निकटका युवाहरूले अर्को संस्था बनाउन थालेका हुन् ।

 उनीहरूले ढुंगेललाई परिषद्को उपाध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर सरकारी स्रोत साधन दुरुपयोग गरेर रिटर्नी माइग्रेन्ट नेपालमार्फत पूर्वएमालेको संगठन नगर्न चेतावनी दिएका छन् । नेपाली कांग्रेसनिकटका युवा सरोज कोइराला, मुना सिटौलासहितका युवाहरूले रिटर्नी माइग्रेन्टलाई स्वतन्त्र राख्नुपर्ने माग राखेका छन् । उनीहरूले रिटर्नी माइग्रेन्ट नेपाललाई राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष ढुंगेलले आफ्नो दलको भातृसंगठन जस्तो नबनाउन आग्रह गरेका छन् ।

 रिटर्नी माइग्रेन्ट नेपालको प्रथम महाविधेशन वैशाख १५ र १६ गते पोखरामा सम्पन्न भएको थियो । ढुंगेलको ठाडो निर्देशनमा पोखरा महाधिवेशनले पूर्वएमाले निकटका उत्तम अधिकारीलाई अध्यक्ष चयन गरेको थियो । अध्यक्षमा कांग्रेस निकटका युवाहरूले उम्मेदवारी दिने तयारी गरेका थिए । तर, ढुंगेलले विरोधीहरूलाई पेलेर उत्तम अधिकारीलाई अध्यक्ष बनाएका थिए ।

 ३५ सदस्यीय कार्यसमितिमा नेपाली कांग्रेस निकटका युवाहरू छैनन् । विरोध हुने डरले कांग्रेसका १–२ जनालाई कार्यसमितिमा राखिएको छ । तर, उनीहरूले पनि रिटर्नी माइग्रेन्ट नेपालमा नबस्ने भनेर घोषणा गरेका छन् ।
पोखरामा भएको महाधिवेशनको सबै खर्च राष्ट्रिय युवा परिषदले गरेको थियो । महाधिवेशनमा प्रतिनिधिहरूसँग दुई हजारका दरले पनि रकम उठाइएको थियो । महाधिवेशनमा करिव एक सय ९० जनाको उपस्थिति थियो ।

 महाधिवेशनमा करिव पाँच लाख खर्च भएको थियो । परिषद्का उपाध्यक्ष ढुंगेल महाधिवेशनका बेला पाँच सय जनाको हस्ताक्षर गराउनु है भनेर निर्देशन दिएका थिए । रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष अधिकारीले संस्था खोल्ने अधिकार सबैलाई रहेको भन्दै आफूहरूसँग मतभेद राखेर बाहिर जान चाहनेलाई रोक्न नसकिने प्रतिक्रिया दिए । उनले संस्थामा कुनै पनि राजनीतिक विभेद नरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित