वडा कार्यालयमा गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषबीच लफडा

pashupati school

  काठमाडौं । ४ गते शनिबार काठमाडौं महानगरपालिकाले वडा कार्यालय भवन बनाउनका लागि भन्दै पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम) को जग्गामा जबर्जस्ती डोजर चलाएयो ।

विद्यालयको जग्गा अतिक्रमण गर्न लागेको भनेर विद्यार्थी र शिक्षकले अवरोध गर्दागर्दै डोजरले जग खनेपछि महानगरका मेयर विद्यासुन्दर शाक्यले भवन शिलान्यास समेत गरेका थिए ।

विद्यालयको स्वीकृती विनै मेयर शाक्यकै जोडबलमा काठमाडौं महानगरपालिकाको वडा ८ को कार्यालय बनाउन डोजर चालाइको समाचार हामीले यस अघि नै प्रकाशित गरिसकेका थियौं ।

तर, सोमबार गुठी संस्थानले पशुपति क्षेत्रको वेद विद्याश्रम माध्यमिक विद्यालयको जग्गामा वडा कार्यालय भवन नबनाउन काठमाडौं महानगरपालिकालाई पत्र पठाएपछि मेयर शाक्य पछि हटेका छन् ।

संस्थानले सोमबार कामनपालाई पत्राचार गर्दै वडा नं ८ को कार्यालय भवन निर्माण रोकेर जग्गा संरक्षण गर्न भनेको हो । संस्थानले पशुपति र विद्याश्रमको स्वामित्वमा रहेको जग्गामा कंक्रिटयुुक्त भवन निर्माण गर्न नपाइने भन्दै सचेतसमेत गराएको छ ।

महानगरलाई लेखिएको पत्र पशुपति क्षेत्र विकास कोष र विद्यालयलाई समेत बोधार्थ पठाइएको छ । तर, कोष भने विद्यालयकै जग्गामा वडा कार्यालयको भवन बनाउन चाहन्छ ।

कोषले पनि सोमबार नै विद्यालयको जग्गामा भवन निर्माण गर्न वडा कार्यालयलाई पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, काठमाडौं महानगरपालिका र विद्यालयलाई उक्त पत्रको बोधार्थ पठाइएको छ ।

पत्रअनुसार तत्कालीन संस्कृति, पर्यटनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमा विद्यालयको ४ आना जग्गामा वडा भवन बनाउन दिने निर्णय भएको जनाइएको छ ।

तर, अहिले भने वडा कार्यालयले भवन बनाउन करिब ८ आना जग्गा आवश्यक पर्ने भन्दै एक रोपानी जग्गामा डोजर चलाइएको छ ।

विद्याश्रमको व्यवस्थापन कोषले गर्दै आएको छ भने जग्गा गुठी मातहत विद्यालयको स्वामित्वमा छ ।

विद्याश्रममा एक सय ८५ जना विद्यार्थी संस्कृत पढदै छन् । कक्षा ११ सञ्चालनको तयारीमा रहेको विद्यालयलाई जग्गा अतिक्रमण गर्दै गए ठाउँ अभाव हुने शिक्ष्ँकहरू तर्क गर्छन् ।

यता, वडा नम्बर ८ का अध्यक्ष दिनेशकुमार डंगोलले भने कोषले उपलब्ध गराएको जग्गामा बाध्य भएर भवन बनाउन लागिएको जनाएका छन् ।

२०५८ सालमा कोषले वडाको जग्गा अधिग्रहण गरेको भन्दै उनले त्यसको सट्टा अर्को जग्गा दिने सहमति भएको पनि जानकारी गराए । तर, उनले विद्याश्रमको जग्गा नै वडालाई चाहिन्छ भनेर माग नगरिएको दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित