अब नेपालमा पनि इलेक्ट्रिक भोटिङ मेसिनबाट निर्वाचन

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेश र संसदीय निर्वाचनमा इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग गरिने बताएका छन् । निर्वाचन आयोगको प्राविधिक टोलीलाई छिट्टै भारत पठाएर इलेक्ट्रिक भोटिङ मेसिनका विषयमा अध्ययन गर्ने बताउँदै उनले भने–‘भारतमा संसदको निर्वाचनमा भोटिङ मेसिन प्रयोग भएको छ, नेपालमा पनि त्यसको सम्भाव्यताका विषयमा अध्ययन र अनुसन्धान सुरु भएको छ । सबैको सरसल्लाहमा अगाडि बढ्ने छौं ।’ प्रदेश र संसदको निर्वाचनमा इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग गर्ने विषयमा छलफल सुरु भइसकेको उनको भनाई थियो । काठमाडौंको थापाथलीमा शुक्रबार जियोक, नियोक र संकल्पले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधान गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश र संसदको निर्वाचन एकै चरणमा गर्न असंभव रहेको दोहोर्‍याए । प्राविधिक, भौतिक र अन्य विविध कारणले दुई वटा निर्वाचन एकै चरणमा गर्न असम्भव रहने बताएका हुन् । निर्वाचन आयोग सबै निर्वाचन गर्न तयार रहेको बताउँदै उनले भने–‘तर, प्रदेश र संसदको निर्वाचन एकै चरणमा गर्ने कुरा सम्भव छैन ।’ एकै पटक गर्न नसकिए पनि दुई तहकै निर्वाचन केही समयको अन्तरमा माघ ७ गतेभित्र गर्न सकिने बताए । प्रमुख आयुक्त यादवले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा ५ अबै ५४ करोड रुपियाँ खर्च भएको जानकारी गराए । उनका अनुसार पहिलो चरणको निर्वाचनमा प्रतिव्यक्ति ४८८ रुपियाँ खर्च भएको छ । निर्वाचनका लागि सरकारले दिएको रकममध्ये ५ अर्ब रुपियाँ फिर्ता गरिएको पनि यादवले जानकारी गराए । प्रमुख निर्वाचन आयुक्त यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिने वित्तिकै मतदाता नामावली संकलन गरिने बताएका छन् । सोलुखुम्बुको दिङ्लामा निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरेर बस्दा पनि कसैको उम्मेदवारी नपरेको यादवले बताए । आयुक्त यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भारतपुर घटना नदोहोरियोस् भनेर निर्वाचन आयोग सचेत रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित