छानबिन समितिको खुलासा : सूर्यदर्शन सहकारीबाट रवि आफैँले एक करोड लगेको निष्कर्ष !

कास्की । पोखरा महानगरपालिकाले समस्याग्रस्त सहकारी सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

प्रतिवेदन मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मालाई बिहीबार हस्तान्तरण गरेका हुन् ।

विशेषज्ञका रूपमा नियुक्त एफसिए अनिल लामिछाने, सहकारी विज्ञ दीपक प्रकाश आचार्य, पोखरा महानगरपालिका सहकारी शाखा, महानगर सहकारी व्यवस्थापन समिति लगायतले प्रतिवेदन तयार गरेका हुन् । प्रतिवेदन ३४१९ पृष्ठ लामो रहेको छ ।

गत माघ २२ गते नै सूर्यदर्शन सहकारीका पीडितले लामिछानेविरुद्ध पूरक उजुरी दिएका थिए । उक्त उजुरीपछि महानगरपालिकाले फेरि अर्को विस्तृत अध्ययन थालनी गरेको थियो ।

समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैले माग फारम भरेर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट एक करोड रूपैयाँ ऋण लगेको निष्कर्ष निकालेको छ ।

लामिछाने ग्यालेक्सी टेलिभिजनका सेयरधनी एवं प्रबन्ध निर्देशक रहेका बेला उक्त ऋण माग गरेको फारम भेटिएको छानबिन समितिको दाबी छ । लामिछानेले सो ऋण माग गरेपछि ग्यालेक्सी टिभीको सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिमा एक करोड रूपैयाँ गएको पनि छानबिन समितिको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित