सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

काठमाडौँ । सुडानमा पछिल्लो महिना हैजाको प्रकोपका कारण मृत्यु हुनेको संख्या ४३० नाघेको छ । देशमा जारी गृहयुद्धका बीच सुडानको स्वास्थ्य मन्त्रालयले हैजाका बिरामी झण्डै १४ हजार पुगेको जानकारी दिएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले हैजाबाट मुक्ति पाउन हरसम्भव प्रयास गरिरहेको बताएको छ ।

सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका कारण खाँचोमा परेकाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन निकै कठिन छ । गत वर्षदेखि हालसम्म यो द्वन्द्वमा डेढ लाखले ज्यान गुमाएका छन् । सुडानमा जारी द्वन्द्वका कारण उनीहरूले नियमित अवरोधको सामना गर्नुपर्ने चिकित्सा सहायता संगठन डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले रिपोर्ट गरेको छ।

अप्रिल २०२३ देखि सुडानमा सेना र शक्तिशाली अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच सत्ता संघर्ष चलिरहेको छ। जसका कारण करिब ९० लाख मानिसले आफ्नो घर छाड्नु परेको छ । बाली लगाउन नसक्दा भोकमरीको त्रास पनि बढेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हैजा एकदमै छिटो फैलिने रोग हो, जसले मृत्यु पनि निम्त्याउन सक्छ। यसको उपचार सजिलो छ तर यसलाई ढिलो नगर्नु महत्त्वपूर्ण छ।

सुडानका स्वास्थ्यमन्त्री हैथम मोहम्मद इब्राहिमले अगस्टमा हैजाको प्रकोप भएको घोषणा गरेका थिए । युद्धसँगै भारी वर्षा, बाढी र विस्थापित शिविरमा भीडभाडका कारण हैजाका बिरामी पनि बढेका छन् । कतिपय ठाउँमा यो रोग फैलिन नदिन विद्यालय र बजार बन्द गरिएको छ । नयाँ एमएसएफ रिपोर्ट अनुसार, गर्भवती महिला र बालबालिका स्वास्थ्य प्रणालीको पतनबाट सबैभन्दा बढी प्रभावित भएका छन् । जनवरी र अगस्टको बीचमा, दक्षिण डार्फर क्षेत्रमा ११४ गर्भवती महिलाको मृत्यु भएको छ। हजारौं बालबालिका भोकमरीको सामना गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित