नेपालमा काम अलपत्र पार्ने ठेकेदार महतोको अमेरिकन पासपोर्ट

ramanmahato

 काठमाडौं । चर्चित टिभी प्रस्तोता एवम् सञ्चारकर्मी रवि लामिछानेलाई नेपालमै काम गरेर बस्नका लागि श्रम स्वीकृती चाहियो । त्यतिले नपुगेपछि उनले अमेरिकन नागरिकता र पासपोर्ट नै त्याग्नुप-यो ।

 तर, ‘ए’ क्लासको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सन प्रालिका सञ्चालकमध्ये एक रमन महतो जो, अमेरिकन नागरिक भएर पनि नेपालमा विना श्रम स्वीकृती मज्जाले ब्यवसाय गरेर बसिरहेका छन् । त्यसमाथि पनि सानोतिनो काम होइन, करिब ५० अर्ब बराबरको विभिन्न सरकारी आयोजनाको ठेक्का लिएर उनले काम गरिरहेका छन् ।

 रमन कन्स्ट्रक्सनको वेवसाइटमा जनाइएअनुसार रमन उक्त कम्पनीमा फाइनान्स निर्देशकका रुपमा कार्यरत रहेका छन् भने उनी ठेकेदार बलराम महतोका छोरा हुन् । श्रम तथा ब्यवसायजन्य सुरक्षा विभागका अनुसार रमन महतो नाम गरेका अमेरिकन नागरिकले कुनै पनि श्रम स्वीकृति लिएका छैनन् । ‘नेपालमा दोहोरो नागरिकताको प्रणाली सरकारले कार्यान्वयन नगरेको अवस्थामा नेपाली नागरिकता, पासपोर्ट नत्यागी त्यसरी विदेशी पासपोर्ट लिएर नेपालमै बसोबास र ब्यवसाय गर्नु गैरकानुनी ठहरिन्छ,’ विभागका महानिर्देशक लालमणि ओझाले भने ।

 तर, नेपाली विदेशीको हकमा श्रम स्वीकृती नलिई काम गरेमा के–कस्तो कारबाही हुन्छ ? कसले कारबाही गर्छ ? भन्ने प्रश्नको जवाफमा उनले यो सबै छानविन तथा कारबाही गर्ने निकाय गृहमन्त्रालय र अध्यागमन विभाग भएको बताए । महतोले लिएको अमेरिकन पासपोर्टको नम्बर ५०५७२५५८८ रहेको छ । अध्यागमन विभागको रेकर्डले उनी उक्त पासपोर्ट प्रयोग गरेर नेपाल प्रवेश गरेको मात्र देखिन्छ भने नेपाल बाहिर गएको देखिन्न । जसलाई अध्यागमन विभागले समेत शंकास्पद मानेको छ ।

 उनले आफ्नो फेसबुकमा अमेरिकास्थित फ्लोरिडा निवासी भएको उल्लेख गरेका छन् । नेपालमा सवैभन्दा बढी काम विगार्ने तथा समयमा काम नगर्ने ठेकेदार कम्पनीका रुपमा परिचित रमन कन्स्ट्रक्सनलाई पुनः भेरी बबई डाइभर्सनको दोस्रो प्याकेज अन्तर्गतको काम सेटिङमा दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित