तथ्यांकमा संक्रमणः अमेरिका सबैभन्दा धेरै प्रताडित, विश्वभर १ लाख १९ हजार बढीको मृत्यु
काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा भएको छ । यसअघि सबैभन्दा धेरै नागरिक गुमाएको इटलीलाई समेत उछिनेर महाशक्ति राष्ट्र अमेरिका कोरोना भाइरसबाट पीडित हुनेमा पनि सर्वाधिक अगाडि परेको छ ।
हालसम्म सार्वजनिक तथ्यांक अनुसार अमेरिकामा २३ हजार भन्दा बढीको मृत्यु भएको छ भने सबैभन्दा धेरै मानिसको मृत्यु हुने सहरमा न्युयोर्क परेको छ ।
वल्डोेमिटरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अमेरिकामा २३ हजार ५५५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या पाँच लाख ८४ हजार ८६२ पुगेको छ ।
यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासमै पहिलोपटक अमेरिकाका सम्पूर्ण ५० राज्यमा एकैपटक संकटकालको घोषणा गरेका छन् ।
त्यस्तै कोरोनाका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरण अनुसार इटलीमा २० हजार ४६५ जनाको मृत्यु भएको छ ।
संक्रमितको संख्यामा भने स्पेन दोस्रो अग्रस्थानमा रहेको छ । इटलीमा संक्रमितको संख्या एक लाख ५९ हजार ५ सय १६ रहेको बेलामा स्पेनमा भने एक लाख ७० हजार ९९ रहेको छ । स्पेनमा मृत्यु हुनेको संख्या १७ हजार ७५६ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म धेरै नागरिक संक्रमित भएका देशहरु मध्येमा फ्रान्स चौथोमा, जर्मनी पाँचौमा, बेलायत छैठौँमा, चीन सातौमा, इरान आठौमा, टर्की नवौँमा र बेल्जीयम दशौँमा रहेको छ ।
त्यसैगरी मृत्यु हुनेको संख्या फ्रान्समा १४ हजार ९६७, जर्मनमा ३ हजार ११८, चीनमा तीन हजार ३४१, बेलायतमा ११ हजार ३२९, इरानमा चार हजार ५८५, टर्कीमा एक हजार २९६ र बेल्जीयममा तीन हजार ९०३ रहेको विवरण सार्वजनिक भएको छ ।
यो समाचार लेख्दासम्म विश्वभरी १९ लाख २० हजार २५८ जना संक्रमित भएका छन् भने १ लाख १९ हजार ४१३ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा पनि पछिल्ला दिनमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा हालसम्म १० हजार ४ सय ५३ जना संक्रमित भेटिएको छ भने ३ सय ५८ जनाले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै नेपालमा हालसम्म १४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
प्रतिक्रिया