कोरोनाबाट बेलायतमा पोखराका गुरूङको मृत्यु, बेलायतमा मात्र अहिलेसम्म १८ नेपालीको मृत्यु

UK

लन्डन । बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए ।

आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो ।

विगत केही महिनादेखि ढाडको समस्या झेलिरहेका गुरुङको गत डिसेम्बर १० तारिखमा काठमाडौंको ‘ग्राण्डी अस्पताल’ मा अप्रेसन भएको थियो । झण्डै २ महिना आरामपछि फेब्रुअरी पहिलो साता उनी बेलायत फर्किएका थिए ।

ढाडकै समस्याका लागि नियमित औषधि सेवन गर्दै आएका गुरुङलाई श्वासप्रश्वासमा अफ्ठेरो भएपछि अप्रिल १३ तारिख आइतबार अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा केही दिन उनलाई भेन्टिलेटरमा समेत राखिएको थियो ।

कास्की, यान्जाकोट पुर्ख्यौली भएका मृतक गुरुङको पछिल्लो समय पोखराको सैनिक बस्तीमा समेत घर थियो । हंगकंग हुँदै बेलायत आएका उनी लामो समयदेखि परिवारसहित बेलायतमा बस्दै आएका थिए । उनको परिवारमा श्रीमति र एकमात्र छोरा छन् ।

रेडिङ तमु समाजका कार्यसमिति सदस्य समेत रहेका गुरुङको निधनप्रति समाजका तर्फबाट अध्यक्ष नन्द गुरुङले दुख व्यक्त गरेका छन् ।

बेलायतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । बेलायतमा नेपालीहरुमा पूर्व गोर्खा सैनिकहरु विशेष गरी संक्रमित भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित