भगवानहरु पनि लकडाउनमा... !

dharma

 

प्रत्येक बिहान ३ बजेदेखि मानिसहरुको भिडभाड लाग्ने पशुपतिनाथ मन्दिर परिसर अहिले सुनसान छ । सरकारले लकडाउनका कारण मन्दिर प्रवेशमा प्रतिबन्ध लगाइएको छ । हरेक दिन पशुपति जाने धर्मावलम्बीहरु पनि अहिले घरबाटै पशुपतिनाथको सम्झना गर्न बाध्य भएका छन् ।

अहिले यस परिवेशमा नेपालका सबै धार्मिक स्थलहरुमा सर्वसाधारणलाई प्रतिबन्ध लगाइएको छ । राजधानीको पशुपतिमात्र होइन प्रायः गरि चैत बैशाखको समयमा कालिञ्चोक, मुक्तिनाथ जाने पर्यटक एवं धर्मावलम्बीहरुको अत्याधिक भिड हुने गर्दथ्यो । त्यस्तै धार्मिक पर्यटनलाई प्रमुख विषय बनाउने नेपालीहरुले लकडाउनको पूर्ण पालना गर्दैछन् ।

pashupati

राजधानीको स्वयम्भू, जहाँ बौद्ध धर्मावलम्बीहरुको मात्र नभई सम्पूर्ण धर्मावलम्बीहरुको प्रमुख गन्तव्यमा पर्ने गर्दथ्यो । अहिले भने स्वयम्भू पनि लगभग बन्द कै अवस्था रहेको छ । बुद्ध जन्मस्थल लुम्बिनी पनि बन्दकै अवस्थामा रहेको छ । राजधानी बाहिरका अन्य बौद्ध धार्मिकस्थलहरु पनि लकडाउनका कारण बन्द नै रहेका छन् ।

राजधानीको जामे मस्जिद, नेपाली मुस्लिम धर्मावलम्बीहरुको प्रमुख धार्मिक आस्थाको केन्द्र । जहाँ मुस्लिम धर्मावलम्बीहरुले प्रत्येक शुक्रबार नवाज पढ्ने गर्दथे, त्यही माथि अहिले रमजान चलिरहेको बेला । यस लकडाउनले सबैभन्दा बढी प्रत्यक्ष प्रभाव मुस्लिम धर्मावलम्बीहरुलाई पारेको छ । किनभने प्रमुख चाडका रुपमा मनाइने यस पर्वमा सामूहिक रुपमा भेला भएर नवाज पढेर मनाइने गरिन्थ्यो । नेपालमा देखिएका संक्रमितमा विशेष गरि मस्जिदमा रहेका मुस्लिम धर्मगुरु (जमाती) हरु देखिनु पनि धार्मिकस्थलहरु रोग सार्ने माध्यम बन्नसक्ने भन्दै सरकारले गरेको धार्मिकस्थल प्रवेश प्रतिबन्ध सार्थक भएको पुष्टी भएको छ ।

church

त्यस्तै देशभरका चर्चहरु पनि बन्द नै रहेका छन् । क्रिश्चियन धर्मावलम्बीहरुको प्रमुख गन्तव्य रहने गरेको चर्च पनि कोरोना भाइरसको जोखिमका कारण बन्द छन् ।

विश्वनै कोरोना भाइरसको संक्रमणका कारण आक्रान्त बनिरहेको यस परिवेशमा लकडाउनमा बस्नुपरेको अवस्थामा । विश्वका प्रायः सबै मानिसहरु लकडाउनमा रहेको अवस्थामा भगवान् पनि लकडाउनमा परेका छन् । जुनसुकै धर्ममा आस्था राख्ने मानिस भएपनि निश्चित समयमा आफूले आस्था राख्ने भगवानको मन्दिर, मस्जिद, गुम्बा वा चर्चमा जाने गर्दथे ।

विश्वमा नै पहिलोपटक अहिलेको जस्तो परिस्थिति सिर्जना भएको छ, जहाँ, मानिसहरुले आफ्नो दुःखेसो पोख्नका साथै खुशीयाली साट्न जाने गर्दथे । जुनसुकै धर्ममा आस्था राख्ने मानिसहरुले पनि आफूले मान्ने गरेका भगवानको प्रार्थना गर्ने गर्दथे, त्यो फरक–फरक स्वरुप वा रुपमा भए पनि ।

masjid

हिन्दुहरु मन्दिर गएर पाठ गर्थे, बौद्ध धर्मावलम्बीहरु गुम्बा गएर पाठ गर्ने, मुस्लिमहरु मस्जिद गएर नवाज पढ्थे भने क्रिश्चियन धर्मावलम्बीहरु चर्च गएर । सबै फरक–फरक रुपमा भए पनि आखिर भगवानकै प्रार्थना गर्ने गर्दथे । हिन्दुका भगवान शिव, भगवान् गौतम बुद्ध हुन् या मुस्लिमको अल्लाह वा क्रिश्चियनको जिसस । जो फरक–फरक रुपमा भए पनि सबै मानवजातिले मान्ने गरेका भगवान्हरु हुन् ।

हरेक आपत अनि विपतको अवस्थामा हरेक मानिसले सम्झने भनेको सबैभन्दा पहिले भगवान् नै हुन्, चाहे हिन्दुले शिव, बौद्धिष्टले बुद्ध होस् वा मुस्लिमले अल्लाह र क्रिश्चियनले जिसस ।

अहिलेको यस विषम परिस्थितिमा जो जुन धर्ममा आस्था राख्ने भए पनि सबैभन्दा पहिलो धर्म भनेको विश्वमा ३२ लाख भन्दा बढी मानिसलाई संक्रमित र करिब २ लाख ३० हजार मानिसको ज्यान लिइसकेको कोरोना भाइरसविरुद्ध लड्नु नै रहेको छ । धर्मको आस्थाको नाममा मन्दिर, मस्जिद, गुम्बा र चर्च धाउनुभन्दा आफू जुन अवस्थामा बस्दा महामारको चपेटाबाट बच्न सकिन्छ, त्यही अवस्थामा नै बस्नु उपयुक्त हुन्छ ।

भगवान् हुन् उनलाई सबै थाहा छ, यस किसिमको विषम परिस्थितिमा आफ्ना चेलाहरुलाई माफी अवश्य नै दिन्छन् । भगवान् मानिस जस्तो पक्कै स्वार्थी हुँदैनन् होला, त्यसैले लकडाउनको अवस्थामा रहेका चेलाहरुले लकडाउनकै अवस्थामा रहेका भगवानलाई मनैदेखि सम्झौं, घरैदेखि सम्झौं ।

प्रतिक्रिया

सम्बन्धित