भक्तपुरमा किट सकियो, आरडिटी परीक्षण आजैदेखि रोकियो
भक्तपुर । भक्तपुर अस्पतालमा सोमबारखि आरडिटी परीक्षण रोकिएको छ । आरडीटीका लागि किट सकिएपछि परिक्षण रोकिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन् ।
अस्पतालले पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन भने जारी राखेको छ । सोमबार दुई पुरुष र तीन महिला सहित पाँच जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको उनले जानकारी दिइन् । अस्पतालले अहिलेसम्म ७८६ जनाको आरडिटी र ६०५ जनाको पीसीआर गरी कूल एक हजार ३९२ को कोरोना परीक्षण गरेको छ ।
त्यसैगरी भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुर नपाले शुरुमा गरेको आरडिटी परीक्षणमा एक वडा सचिव र अर्की सफाइ मजदूरको रिपोर्ट पोजिटिभ आएपछि गरिएको पीसीआर परीक्षणमा ६६ जनाको रिपोर्ट नेगेटिभ आएको भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए ।
भक्तपुर नपाले गरेको पीसीआर परीक्षणमै उक्त नपाको वडा नं ९ की ४२ वर्षीया महिला वडा सदस्यमा कोरोना भाइरस पुष्टि भएको थियो । उनीसँगै पीसीआर गरिएकामध्ये ६६ जनाको नेगेटिभ आएको उनले जानकारी दिए । भक्तपुर नपाले आफ्ना जनप्रतिनिधि, कर्मचारी तथा सफाइ मजदुर गरी २०० को पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरेको जनाएको छ ।
त्यसैगरी भक्तपुर नगरपालिका भेलुखेलका एक पुरुषमा कोरोना सङ्क्रमण भएपछि यहाँका १६ जनाको पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापन गर्ने भक्तपुरका दुई युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुरका स्वयंसेवी अरुण सैंजू र राजेश गाइँजूले काभ्रेको धुलिखेल अस्पतालबाट ती महिलाको शव गाडीमा राखेर पशुपतिस्थित विद्युतीय शवदाह गृह पु¥याई व्यवस्थापन गरेका थिए ।
प्रतिक्रिया