आरती स्ट्रिप्सका ५१ जनामा कोरोना संक्रमण

 aarti Strips

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा रहेको एउटै उद्योगमा कार्यरत ५१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बूढीगंगा-१ मा रहेको आरती स्ट्रिप्स प्रालिमा कार्यरतमध्ये ठूलो संख्यामा मजदुर र कर्मचारीमा कोरोना देखिएको हो । एक साताको अवधिमा संक्रमित बनेकामध्ये अधिकांश मजदुर छन् । सुरुमा दुई मजदुरमा कोरोना देखिएपछि उनीहरुको 'कन्ट्रयाक ट्रेसिङ' गर्दा अरुमा पनि संक्रमण पुष्टि भएको वडाध्यक्ष युवराज पौडेलले बताए । 

उनकाअनुसार उद्योगमा कार्यरतमध्ये दुई सय जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कर्कट पाता र फलामे डण्डी उत्पादन हुँदै आएको उद्योगले 'लकडाउन' खुल्ने वित्तिकै लुकाइछिपाइ भारतीय मजदुर ल्याएर काममा लगाउँदा कोरोना फैलिएको हुन सक्ने आशंका गरिएको पौडेलको भनाइ छ । 

'सुरुमा दुईजनामा संक्रमण देखिएको थियो । त्यसपछि पनि उद्योग निरन्तर चलिरहयो,' उनले भने, 'तत्काललै सिल गरेर मजदुरलाई क्वारेन्टाइनमा राख्नु पर्नेमा त्यसो गरिएन । त्यसको परिणाम स्वरुप अहिले ठूलो संख्यामा मजदुर र कर्मचारी संक्रमित हुने अवस्था बन्यो ।' 

स्थानीय बासिन्दाले पनि जबरजस्ती उद्योग चलाउँदा कोरोना व्यापक रुपमा फैलिएको गुनासो गरेका छन् । यसअघि ३० जनामा संक्रमण देखिएकोमा बिहीबार २१ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमितलाई उद्योगभित्रै आइसोलेसन बनाएर राख्न मोरङ प्रशासनले निर्देशन दिएको छ । संक्रमण पुष्टि भएका केही कर्मचारी ‘होम आइसोलेसन’मा छन् । उद्योगमा पाँच सय बढी मजदुर कार्यरत रहेको जनाइएको छ । 

उद्योगमा कार्यरत एक कर्मचारीले सक्रमण पुष्टि भएकामध्ये दुई भारतीय नागरिक सम्पर्कविहीन बनेको बताए । परीक्षणका लागि स्वाब संकलन गरिएपछि उनीहरु सम्पर्कबिहीन बनेकोर पछि रिपोर्ट पोजिटिभ आएको उनको भनाइ छ । ती कर्मचारीले सम्पर्कविहीन बनेकाहरु भागेर भारततिरै गएको हुन सक्ने बताए । 

अहिले उद्योगमा संक्रमण फैलिएर अवस्था भयावह बनेपछि वरपरका बासिन्दा पनि त्रसित बनेका छन् । उद्योगमा काम गर्नेहरु आसपासका घर र बस्तीमा डेरा बस्ने गर्थे । डेरा बस्नेहरुमा पनि कोरोना संक्रमण देखिएपछि स्थानीय बासिन्दामा त्रास बढेको वडा अध्यक्ष पौडेलको भनाइ छ । उनकाअनुसार उद्योगका मजदुरबाट कोरोना समुदायमा फैलिएको हुन सक्ने आशंका गरिएको छ । 

बूढीगंगाको उद्योग र आसपासका क्षेत्र सिल गरेर सर्वसाधारणलाई हिँडडुल र सवारी साधन आवतजावतमा कडाई गरिएको छ । संक्रमितसँग सम्पर्कमा रहेकाको 'कन्ट्रयाक ट्रेसिङ' गर्दै परीक्षणको दायरा फराकिलो पार्न उद्योग आसपासको क्षेत्रमा कडाई गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । संक्रमण घटेर अवस्था सामान्य नभएसम्म कडाई जारी रहने उनको भनाइ छ । -अन्नपूर्ण पाेस्ट्

प्रतिक्रिया

सम्बन्धित