नेपाल र चीनबीच सीमा समस्या छैनः सरकार

 Pradeep Gwali

Pradeep Gwali

 

काठमाडौं । सरकारले नेपाल र चीनबीच सीमा समस्या नभएको स्पष्ट गरेको छ ।  यही असोज १ र ६ गते बसेको  मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउन बुधबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता  प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा विवाद र  समस्या नभएको बताए ।

“नेपाल र चीनबीच सीमा समस्या छैन । कहीँकतै देखा परे पनि बसी छलफल गरेर समाधान गर्ने हाम्रो सौहार्द सम्बन्ध छँदै छ”, उनले भने । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीनबीच सीमा विवादबारे आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको जनाउँदै भने, “केही दिनअघि नेपालका सञ्चारमाध्यम र बाहिरका सञ्चारमाध्यममा समेत नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालको सीमाभित्र आएर घर बनाएको भनेर विभिन्न खालका समाचार सम्प्रेषण भएका छन् । नेपाल र चीनबीचको सीमा समस्याबारे समाचार सम्प्रेषण गर्नुपूर्व सम्बन्धित मन्त्रालय, विभागको आधिकारिक धारणा बुझेर मात्र गर्नुपर्छ । दुई देशबीचको सीमाको विषय संवेदनशील भएकाले  आधिकारिक धारणासहित समाचार आउनुपर्छ । ”

जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थगलगत अध्ययनका लागि टोली गएको र  फर्केर आइसकेपछि थप केही कुरा भए सरकारले जानकारी गराउने उनले बताउ । 

प्रवक्ता ज्ञवालीले यस्तै खालको समाचार सञ्चारमाध्यममा २०७३ सालमा पनि आएको उल्लेख गर्दै त्यतिबेला सरकारले अन्तरमन्त्रालय छानबिन गरेको बताए । “ गृह, परराष्ट्र,  नापी  विभागसमेतको टिमले स्थलगत अध्ययन गरेर त्यतिबेला बनेका घरहरु नेपाल, चीन सीमाभन्दा एक  किलोमिटर चिनियाँ भूभागमा नै भएको भनेर प्रतिवेदन दिएको रहेछ । अहिले पनि त्यही ठाउँमा घर बनाएको जानकारी प्राप्त भएको छ ”, उनले भने ।

रसुवागढीस्थित केरुङ नाकामा एक हप्ताभित्र सहज गर्ने गरी दुई देशबीच सहमति भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनले निरन्तर कूटनीतिक संवादमार्फत नाका समस्याको समाधान गरिएको पनि बताए ।

ज्ञवालीका अनुसार बुधबार पहिलो पटक बिसिजीलगायत अत्यावश्यक खोपसहित अन्य औषधिजन्य सामग्री नेपाली भूमिमा प्रवेश गरिसकेका छन् । खास गरेर नाकाका केही श्रमिकलाई कोभिड –१९  सङ्क्रमण देखिएपछि केही समयदेखि नाका अवरुद्ध भएको उनले बताए । “केही दिनदेखि ढुवानीमा केही समस्या उत्पन्न भएका थिए । त्यसले नेपालीको ठूलो लगानी फसिरहेको छ, चाडपर्वका बखत अत्यावश्यक वस्तु आउन नपाउँदा बजारमा अभाव खड्किरहेको छ”,  उनले भने ।

प्रतिक्रिया

सम्बन्धित