डिजेल र मट्टीतेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एकरएक रुपैयाँ घटाएको छ । निगमले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको उनले जानकारी दिए । नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टीतेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ८९ रुपैयाँ तोकिएको छ । यसअघि निगमले ३१ भदौमा डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एकरएक रुपैयाँ घटाएको थियो ।
निगमले पेट्रोल हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ । निगमका अनुसार यसपटक आईओसीले डिजेलको मूल्य घटाए पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्य बढाएर पठाएको भए तापनि मूल्य यथावत राखिएको छ ।
प्रतिक्रिया