बुटवलमा निषेधाज्ञा सुरु, ५ जनाभन्दा बढी सँगै हिँडडुल गर्न प्रतिबन्ध
बुटवल । प्रदेश राजधानी भालुवाङ प्रस्ताव गरिएपछि भड्किएको प्रदर्शन रोक्नका लागि प्रशासनले जारी गरेको निषेधाज्ञा सुरु भएको छ । प्रदेश ५ को राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएपछि रुपन्देहीमा आन्दोलन चर्किन थालेपछि स्थानीय प्रशासनले आज (आइतबार) बिहानदेखि लागू हुने गरी चार दिने निषेधाज्ञा जारी गरेको छ ।
आगामी असोज २१ गते बेलुका ६ बजेसम्म जारी रहने निषेधाज्ञाका समयमा भीडभाड, सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न ÷ गराउन स्थानीय प्रशासनले रोक लगाइएको छ ।
पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएर हिँडडुल गरे कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । मुख्यमन्त्री कार्यालय, मन्त्री कार्यालयहरू तथा प्रदेश सभा भवन रहेका आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको हो ।
प्रदेशसभा भवन रहेको क्षेत्र दक्षिणमा इँटा भट्टीचोक, उत्तरमा कालीका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालीका मन्दिरदेखि इँट्टा भट्टीचोकसम्मको कालीका पथ क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै प्रदेश ५ का मन्त्रालय रहेका दक्षिणमा सुन्दर चोक, उत्तरमा भड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र निषेधाज्ञा लागू गरिएको शनिबार जारी गरिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया