आइपीएलमा दिल्लीको प्रदर्शन खस्कँदै, हैदराबादसँग ८८ रनले पराजित
युएई । युएईमा जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सविरूद्ध शानदार जित हात पारेको छ । मंगलबार राती सम्पन्न खेलमा हैदराबादले दिल्लीमाथि ८८ रनको फराकिलो जित हात पारेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा विस्फोटक ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ सय १९ रन बनाउँदै दिल्लीलाई २२० रनको लक्ष्य दिएको थियो । २२० रनको लक्ष्यसहित मैदानमा उत्रिएको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो।
दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ र अजिन्का रहानेले २६ रन बनाए ।
यस्तै टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए । कप्तान श्रेयस एयर ७ रनमा आउट हुँदा शिखर धवन सुन्य रनमा पेभेलियन फर्किए ।
दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए । यस्तै सन्दीप शर्मा र टी नटराजनले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।
दिल्लीको विशाल लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।
ओपनरद्वय रिद्दिमान र वार्नरले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा आउट भएका वार्नरले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६६ रन बनाए ।
रिद्दिमानले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए । यस्तै मनिस पाण्डेले अविजित रहदै ४४ रन जोड्दा केन विलियम्सनले अविजित ११ रन बनाए ।
जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोड्दै छैठौँ स्थानमा उक्लिएको छ । हैदराबादसँग पराजित भएपछि दिल्ली १२ खेलमा ७ जितसहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।
प्रतिक्रिया