विश्वमा संक्रमित संख्या बढ्दो क्रममा, पछिल्ला दिनमा फ्रान्स सर्वाधिक संकटमा
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ७ लाख नाघेको छ । पछिल्ला दिनमा संक्रमितको संख्या तीब्रगतिमा बढ्दै गएसँगै विश्वमा कोरोनाको प्रभाव अत्याधिक परेको छ । पछिल्लो २४ घन्टामा ४ लाख ७१ हजार ३ सय ३२ जना नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७ लाख २१ हजार ६ सय ४६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ५ हजार ८ सय २९ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख ६१ हजार ७ सय ३५ पुगेको छ ।
हालसम्म विश्वमै सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । पछिल्लो २४ घन्टामा मात्र अमेरिकामा १ लाख १ हजार ८ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा हालसम्म कोरोना संक्रमण हुनेको संख्या १ करोड २ लाख ८७ हजार ६ सय ३९ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ४३ हजार ७ सय ५८ पुगेको छ ।
नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमित हुनेको सूचीमा विश्वकै दोस्रो स्थानमा रहेको छ । भारतमा हालसम्म ८५ लाख ५३ हजार ८ सय ६४ जना संक्रमित भएकोमा ७९ लाख १५ हजार ६ सय ६० जना कोरोनामुक्त भइसकेका छन् भने १ लाख २६ हजार ६ सय ५३ जनाले ज्यान गुमाएका छन् ।
पछिल्ला दिनमा युरोपेली मुलुक फ्रान्समा अत्याधिक संक्रमित बढ्न थालेका छन् ।
फ्रान्समा हालसम्म १७ लाख ८७ हजार ३ सय २४ जना संक्रमित पुगीसकेका छन् । त्यस्तै ४० हजार ४ सय ३९ जनाको मृत्यु भइसकेको छ । फ्रान्समा कोरोनामुक्त हुनेको संख्या ज्यादै न्यून छ । त्यसैले फ्रान्सका अस्पतालहरुमा बिरामीले भरिँदै गएपछि जर्मनसँगको सीमाक्षेत्र तिरका फ्रान्सेली संक्रमितको उपचार जर्मन लगेर गरिँदै गरेको समाचार आएको छ ।
फ्रान्समा हालसम्म १ लाख २८ हजार ६ सय १४ जनामात्र कोरोनामुक्त भएका छन् ।
प्रतिक्रिया