विश्व प्रसिद्ध फुटबलर मेस्सी नेपालमा ७४ वटा स्वास्थ्य संस्था बनाउँदै
काठमाडौं : फुटबलमा विश्वका सर्वाधिक चर्चित खेलाडी मेस्सीले नेपालमा स्वास्थ्य संस्था बनाउने भएका छन् । उनले भूकम्प प्रभावितका क्षेत्रमा स्वास्थ्य संस्था बनाइरहेका छन् । फुटबलर लियोनल मेस्सीले आफ्नो लोक कल्याणकारी संस्था ‘मेस्सी फाउन्डेसन’ मार्फत भूकम्पले ढलेका स्वास्थ्य संस्था बनाउन लागेका हुन् । उक्त कार्यका लागि युनिसेफले सहकार्य गरिरहेको छ । युनिसेफले मेस्सी फाउण्डेसनको सहयोगमा भूकम्प प्रभावित १४ जिल्लाका ७४ वटा स्वास्थ्य संस्था बनाइरहेको छ । युनिसेफलाई स्वास्थ्य संस्था पुनर्निर्माणका लागि विभिन्न दातृ निकायले सहयोग गर्दै आएको छ । जसमध्य मेस्सी फाउण्डेसन पनि एक हो । मेस्सी फाउण्डेसनलाई अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेस्सीले सन् २००७ मा स्थापना गरेका हुन् । उनी हाल बार्सिलोनाका तर्फबाट फुटबल खेल्छन् । उनी सन् २०१० मा युनिसेफका ब्राण्ड एम्बास्डर नियुक्त गरिएका थिए । स्वास्थ्य मन्त्रालयले मेस्सी फाउण्डेनको संलग्नताबारे केही बताएको छैन । यद्यपी, मेस्सी फाउण्डेसनका सञ्चालक लियोनल मेस्सीले भने नेपालका भूकम्प प्रभावित क्षेत्रमा युनिसेफसित मिलेर स्वास्थ्य संस्था निर्माण गरेको देख्दा खुशी लागेको बताएका छन् । उनले गत मार्च २२ मा फेसबुक स्टाटसमार्फत उक्त प्रोजेक्ट अगाडि बढेकोमा खुशी प्रकट गरेका छन् । आउँदो असार मसान्तभित्रमा स्वास्थ्य संस्था पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्यसहित युनिसेफले कुल २२ करोड रुपैयाँ लागतमा भूकम्पद्वारा पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य संस्था निर्माणको कामलाई अगाडि बढाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य संस्था पुनर्निर्माण गरिने जिल्लाहरुमध्य काभ्रेमा १०, नुवाकोटमा ७, धादिङमा ४, दोलखामा ११, रामेछापमा १३, ओखलढुंगामा ६, गोरखामा, १२, सोलुखुम्बुमा ९ तथा ललितपुरमा २ रहेका छन् । त्यसमध्य ४० स्वास्थ्य संस्थाहरुमा पुनर्निर्माणको काम सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्री–फ्याब प्रणालीमा आधारित भूकम्प प्रतिरोधात्मक तथा बालमैत्री उक्त भवनमा चीनबाट आयातित उच्च गुणस्तरीय सामाग्रीहरु प्रयोग गरिएका छन् । विभिन्न सुविधायुक्त ती भवनहरुमा स्वास्थ्य संस्था सञ्चालनका लागि आवश्यक पर्ने सबै भौतिक पूर्वाधार सामाग्री तथा आवश्यक सबै उपकरण युनिसेफले नै उपलब्ध गराउने जनाएको छ । मन्त्रालयले आगामी पाँच वर्ष भित्रमा भूकम्पले क्षति पुर्याएका ३१० वटा स्वास्थ्य संस्था पुनर्निर्माण गर्ने योजनाअन्तर्गत गत वर्षदेखि नै स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणको कामलाई तिव्रताका साथ अघि बढाएको थियो । सो क्रममा मन्त्रालयले करिब २०० वटा स्वास्थ्य संस्था पुनर्निर्माणको काम सम्पन्न गरिसकेको छ । त्यसबाहेक, स्थायी पुनर्निर्माण अन्तर्गत मन्त्रालयले आउँदो आर्थिक वर्षदेखि भूकम्पले क्षतिग्रस्त बनाएका थप ५०० वटा स्वास्थ्य संस्था पुनर्निर्माण गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया