रियल म्याड्रिडद्धारा डेपोर्टिभो ६–२ ले पराजित
काठमाडौं क्रिस्टियानो रोनाल्डो, गारेथ बेल र करिम बेन्जेमालाई विश्राम दिएको खेलमा रियल म्याड्रिडले घरेलु डेपोर्टिभो ला कोरुनालाई उसैको मैदानमा ६–२ गोलले पराजित गरेको छ। यो नतिजासँगै बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियल म्याड्रिडले ७८ अंक सहित अंक तालिकामा आफ्नो प्रतिद्वन्दी क्लबसँग बराबरी गरेको छ। तर, दुई दिन अघि ‘अल क्लासिको’ भिडन्तमा म्याड्रिडलाई पराजित गरेका कारण बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा यथावत छ। तीन स्टार स्ट्राइकरलाई विश्राम दिएको यस खेलमा अल्भारो मोराटाले ५३ सेकेन्डमै गोल गरेका थिए। बार्सिलोनाविरुद्ध गोल गरेका जाभियर हर्नान्डेजले १४ र ६६ मिनेटमा गरि दुई गोल गरे। लुकास भासकेसले ४४, बार्सिलोनाविरुद्ध खेल्न नपाएका इस्कोले ७७ र बार्सिलोनाविरुद्ध गोल गरेका कासेमिरोले ८७ मिनेटमा गोल गरेका थिए। उनी इस्कोको ठाउँमा ७९ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। डेपोर्टिभोका लागि आन्डोनेले ३५ र जोसेलुले ८४ मिनेटमा गोल फर्काएका थिए। बार्सिलोनाविरुद्धको खेलमा पहिलो हाफमा चोटग्रस्त भएका बेल आज अनुपस्थित रहे। रोनाल्डोलाई १९ सदस्यीय टिममा सहभागी नै गरिएको थिएन भने बेन्जेमा बेञ्जमा बसेका थिए।
प्रतिक्रिया