पूर्वमन्त्री बस्नेतद्वारा भक्तपुरका १४५१ विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

भक्तपुर । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एक हजार ४५१ जना विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । विकासप्रेमी नेताको रुपमा परिचय बनाएका बस्नेतले पछिल्लो समयमा बालबालिकाको शैक्षिक उन्नतीका लागि सहज होस् भन्ने हेतुले भक्तपुरका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई विभिन्न संस्थाको संयोजकत्वमा शैक्षिक सामाग्री वितरण गरेको जनाएका छन् ।

राष्ट्रिय अपाङ्ता पुर्नस्थापना समाजले मंगलवार मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्र रहेका ६ वटा सामुदायिक विद्यालयका एक हजार चार सय ५१ जना विद्यार्थीलाई छात्रछात्रालाई स्कुल ब्याग, स्टेशनरी सामान तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । मध्यपुरथिमि नगरपालिका बोडेस्थित बोडे माध्यामिक विद्यालय, नगदेशस्थित गणेश माध्यामिक विद्यालयमा पुगेर शैक्षिक सामाग्रीहरुसहितको झोला छात्रछात्रालाई हस्तान्तरण हुन् ।

निवर्तमान् सांसद बस्नेतले बोडे माविका २६४, निलबाराही प्राविका ९३, हिमालय प्राबिका ५४, गणेश माविका ६९५, आदर्श मावि सानोठिमीका ३२४ र श्री आधारभूत प्राविका २१ जना विद्यार्थीलाई रु। एक हजार ८३७ बराबरको झोलासहित शैक्षिक र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । चाइना फाउण्डेन फर पोभिट्रि एलिभेसनको आर्थिक सहयोगमा समाजको संयोजनमा विद्यार्थीलाई शैक्षिक एवं स्वास्थ्य सामाग्रीको व्यवस्थापन गरेको हो ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले शहरी क्षेत्रका विद्यार्थीलाई केही चाहिँदैन भन्ने मानसिकता गलत भएको बताए । पूर्वमन्त्री बस्नेतले सरकारी र सामुदायिक विद्यालयमा आधारभूत वर्ग र मजदुरका बालबच्चाहरु अध्ययन गर्ने भएकाले सहयोग आवश्यक रहने औल्याए । कोभिडले विद्यालय बन्द हुँदा विद्यार्थीको हातमा मोवाइल र वाईफाइको पहुँच पुग्न नसक्नु र शिक्षकले ल्यापटप अभावमा कक्षा सञ्चालन गर्न नसकेको भन्दै यहाँले आफ्नो तर्फबाट सक्दो सहयोगको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेता बस्नेतले सुगमताभित्र पछाडि परेको मध्यपुरथिमिको बोडे र नगदेशलाई भक्तपुर क्षेत्र नं। २ भित्र पारेपछि अहिले विकासको मूल प्रवाह भएको बताए । यहाँबाट मूलपानी जाने सडक, गाँकुहुदै सरस्वतीखेल जाने सडक कालोपत्र भएको भन्दै सानोठिमी धुन्चेपाखा सडकपनि स्तरोन्नतीकालागि बजेट आइसकेकोले छिटै काम अगाडि बढ्ने बताए ।

भूकम्पले भत्किएका थिमिका मठमन्दिरलगायतका सम्पदाको पुर्ननिर्माण, संरक्षणमा नगरपालिकाको योगदान सहनिय छभन्दै उनले बोडेको प्रवेश गेट, पोखरी, पार्क जस्ता संरचना निर्माणमा तीनवटै सरकारको योगदान रहेको चर्चा गरे । उनले निलबाराहीलाई सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्य भित्र पार्न सफल भएको बताए ।

कार्यक्रममा एमाले भक्तपुर अध्यक्ष बचन देउजा, समाजका कानूनी सल्लाहकार देवीराम उपाध्यायलगायतले कार्यक्रममा विद्यार्थीको शैक्षिक सुधारमा यस्ता कार्यक्रमले टेवा पुग्ने बताए । कार्यक्रममा बोडे माविका प्रधानाध्यापक जीवना शर्माले ल्यापटपको अभावले शिक्षकले अनलाइन कक्षा सञ्चालन गर्न नसकेको र कोभिडका कारण विद्यालयमा धरै समस्या र चुनौती थुप्रिएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित