प्रधानमन्त्री कार्यालयको कालोसूचीमा यी ७ कम्पनी, १ देखि ३ वर्षसम्म ‘सस्पेन्ड’
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ७ व्यवसायीलाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले ठेक्का लिई समयमै काम नसक्ने विभिन्न ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कालो सूचीमा राखिएका ७ कम्पनी मध्ये १ कम्पनीलाई ३ वर्ष, १ लाई २ वर्ष र ५ कम्पनीका लागि १ वर्षका लागि कालोसूचीमा राखिएको छ । कार्यालयले व्यवसायी र कम्पनी दुवैलाई कालोसूची राखेको हो ।
कालो सूचीमा परेका कम्पनीहरुले उक्त अवधिभर निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ। कालोसूचीमा परेका कम्पनीहरु उक्त समयावधिका लागि ‘सस्पेन्ड’कै रुपमा रहने पनि कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै तीन वर्षका लागि आरोग्य कन्स्ट्रक्सन प्रालि काठमाडौं र मुख्य व्यक्ति रन्जन रायमाझी कालोसूचीमा परेका छन्।
त्यसपछि २ वर्षका लागि डाईग्नोकेम—जय शम्भु जेभी हाँडीगाउँ काठमाडौं र मुख्य व्यक्ति विज्ञानकुमार अर्याल कालोसूचीमा परेका छन्।
कालोसूचीमा पर्ने कम्पनीहरुमा बालन ब्रदर्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स दाङका गजराज बालन योगी, बरदान कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्सन जडिबुटीका तिलक पाण्डे, ग्रीन टेक प्रोजेक्ट प्रालि अनामनगरका निहाल गुरुङ, एस.एन.सी निर्माण सेवा बाँकेका चेतबहादुर बुढा र शाह निर्माण सेवा रुपन्देहीका इनामुल्लाह फकिरलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।
सूचनाः
प्रतिक्रिया