उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशिल छौं

फलामका पानी ट्याङ्की र पाइप प्रगोग गर्दै आएका उपभोक्ताहरुले प्लास्टिकबाट बनेका हलुका र लामो समय टिकाउ हुने ट्याङ्की तथा पिपिआर पाइप फिटिङका सामाग्रीहरु प्रयोग गर्न थालेको धेरै समय वितिसक्यो । पिउनका लागि प्रयोग गरिने पानी राख्ने ट्याङ्की र पाइप एकदमै संवेदनशिल बस्तु भएको बताउनु हुन्छ इको पोलिमर्स प्रालिका अध्यक्ष दिनुप बराल । उहाँ भन्नुहुन्छ–‘उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने सामानको उत्पादन गर्ने भएकाले इको पोलिमर्स त्यसप्रति एकदमै सचेत छ ।’ पछिल्लो समयमा नेपालमा धेरै कम्पनीहरुले त्यस्ता ट्याङ्की र पाइप उत्पादन गर्दै आएका छन् । तर, त्यसको गुणस्तरमा भने प्रश्न चिन्ह उठ्दै आएको पनि छ । व्यापारी–व्यापारीबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको अध्यक्ष बराल बताउनुह हुन्छ । ठूला भनिएका कम्पनीहरुले गुणस्तर घटाउँदै जाने र मूल्यमा प्रतिस्पर्धा गर्ने भएकाले चुनौतीहरु थपिएको उहाँको बुझाई छ । ट्याङ्की र पाइप प्रयोग गर्ने विषयमा उपभोक्ताहरुलाई सचेत हुन आग्रह गर्नुहुने अध्यक्ष बरालसँग इको पोलिमर्सको अवस्था, भावि योजना, नेपालमा प्लास्टिकजन्य सामाग्रि उत्पादन गर्ने कम्पनीहरुको अवस्था, समस्या, चुनौती, यसप्रति सरकारको दृष्टिकोण लगायतका विषयमा mynewsnepal.comका लागि कुमार भण्डारीले गरेको कुराकानी :

dinup baralदिनुप बराल, अध्यक्ष – इको पोलिमर्स प्रा. लि.

० इको पोलिमर्स प्रा.लि.कहिले र केका लागि स्थापना भएको हो ? – हामीले वि.सं. २०६९ सालमा इको पोलिमर्सको स्थापाना गरेका हौं । शुरुमा इको ट्याङ्को मात्र उत्पादन गर्दै आएको इको पोलिमर्सले अहिले भने विभिन्न प्रकारका ट्याङ्की, पिपिआर पाइप फिटिङ्, एचडिपी कालो पाइपका साथसाथै रङका बाल्टिहरु उत्पादन गर्दै आएका छौं । त्यसैगरी भर्खरैमात्र हामीले घरमा आवश्यक पर्ने सामानहरुमध्ये नाङ्लोको उत्पादन शुरु गरिसकेका छौं भने अबको केही समयमा नै बाल्टि, बाटालगायतका घरायासी सामानहरुको उत्पादन शुरु गर्नेछौं । इको पोलिमर्स दैनिक जीवनमा आवश्यक पर्ने हरेक प्लास्टिकजन्य सामानहरुको उत्पादनका लागि नै स्थापना गरिएको हो ।

० इको पोलिमर्सले कस्ता कस्ता ट्याङ्की उत्पादन गर्दै आएको छ ? – इको पोलिमर्सले पनि कम मूल्यदेखि लिएर बढि मूल्यसम्मको ट्याङ्की उत्पादन गर्दै आएको छ । १० रुपैयाँदेखि १५ रुपैयाँ प्रतिलिटर सम्मको ट्याङ्की हामीले उत्पादन गर्दै आएका छौं । पक्कै पनि १५ रुपैयाँ प्रतिलिटरको ट्याङ्की १० रुपैयाँ प्रतिलिटरको भन्दा राम्रो हुन्छ । मूल्य जहिले पनि त्यसमा प्रयोग गरिने कच्चा पदार्थ, त्यसको तौल र त्यसको टिकाउमा भर पर्छ । हुनत जुनसुकै ट्याङ्कीका लागि प्रयोग गरिने कच्चा पदार्थ एउटै हुन्छ । तर, त्यसमा कति मात्रामा कच्चा पदार्थ प्रयोग गरिएको छ भन्ने कुराले असर पार्छ ।

० हामीले प्रयोग गर्ने ट्याङ्कीमा रङले असर गर्छ कि गर्दैन ? – ट्याङ्कीमा रङले कुनै पनि असर गर्दैन । जनमानसमा कालो प्लास्टिकले असर गर्छ भन्ने छ । तर, ट्याङ्कीको बाहिरी रङ कालो भएपनि भित्री भाग भने कालो हुँदैन र कतिपय साना ट्याङ्कीहरु कालो रङको भएपनि त्यसमा प्रयोग गरिने कच्चा पदार्थ गुणस्तरिय प्रयोग गरिने भएकाले त्ससले कुनै असर गर्दैन ।

० इको ट्याङ्क र अन्य ट्याङ्कीमा के फरक छ ? – मलाई के लाग्छ भने अन्य कम्पनी र हामीले उत्पादन गर्ने ट्याङ्कीमा फरक केही पनि नहुनु पर्ने हो । तर, फरक कहाँ हुन्छ भने उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ कस्तो र कति मात्रामा प्रयोग गर्ने भन्ने नै हो । अन्य कम्पनीबाट उत्पादन भएका ट्याङ्कीका बारेमा त म पनि अनभिज्ञ नै छु । तर, मैले बुझेको के हो भने हामीले खानका लागि पानी राख्ने ट्याङ्की भनेको संवेदनशिल बस्तु हो । हामीले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने सामानको उत्पादन गर्ने भएकाले इको पोलिमर्स त्यसप्रति एकदमै सचेत छ । म दावीका साथ भन्छु–हामीले उत्पादन गरेको ट्याङ्कीमा राखेको सफा र पिउन योग्य पानी सिधै उपभोक्ताले प्रयोग गरेमा त्यसले कुनै पनि असर गर्दैन ।

० इको ट्याङ्कको गुणस्तरको बारेमा बताइदिनुस् न । – मलाई के लाग्छ भने इको ट्याङ्कको गुणस्तर भन्दा पनि हामीले ट्याङ्की बनाउन प्रयोग गरिने कच्चा पदार्थमा बढि ध्यान दिनु पर्छ । हामीले ट्याङ्की बनाउनका लागि प्रयोग गर्ने कच्चा पदार्थ थाइल्याण्ड, साउदी अरव र केही मात्रामा भारतबाट पनि आयात गर्छौं । हामीले ट्याङ्की बनाउनका लागि एलएलडिपीइ दाना प्रयोग गर्छौं । त्यसैले हामीले उत्पादन गर्ने इको ट्याङ्क बलियो र आकर्षक त छँदैछ । त्यस सँगसँगै सुरक्षित पनि छ । यसमा कुनै पनि हानिकारक कच्चा पदार्थ प्रयोग गरिएको छैन । पानी मात्र होइन इको ट्याङ्कमा दुध राख्ने हो भने पनि विग्रदैन ।

० इको पोलिमर्सले उत्पादन गर्ने पिपिआर पाइपको बजार चाहिं कस्तो छ ? – अहिलेको अवस्थालाई हेर्ने हो भने इको पोलिमर्सको मात्र नभई जुनसुकै कम्पनीको भएपनि पिपिआर पाइपको बजार एकदमै राम्रो छ । थोरै समयमै खिया लागेर विग्रने र स्वास्थ्यमा असर गर्ने फलामका पाइप प्रयोग गरिरहेको अवस्थामा पिपिआरको उत्पादन हुँदा त्यसको बजार नराम्रो हुने त कुरै भएन । म उपभोक्तालाई पनि के आग्रह गर्छु भने हामीले दैनिक जीवनमा प्रयोग गरिने अझ भनौ पिउनका लागि प्रयोग गरिने पानीमा पिपिआर नै प्रयोग गर्नुपर्छ । पिपिआर पाइप जस्तै अर्को पाइप पनि बजारमा आएको छ । पिपिआर पाइप जाडान गर्ने प्रक्रिया र त्यो नयाँ पाइप जडान गर्ने प्रक्रिया अलि फरक छ । पिपिआर पाइप हिटिङ सिस्टमा जडान हुन्छ भने अन्य पाइप ग्लु लगाएर टाँस्न सकिन्छ । लोडसेडिङले ग्रस्त भएको हाम्रो देशमा प्लम्बरहरुले पनि ग्लु लगाएर टास्ने पाइप नै बढि प्रयोग गर्न थाले । जुन ग्लु स्वास्थ्यको लागि एकदमै हानिकारक मानिन्छ । तर, त्यसतर्फ कसैको ध्यान जान सकेको छैन ।

० रङका बाल्टिहरुको उत्पादन गर्ने कामचाहिं कुन गतिमा अगाडि बढिरहेको छ त ? – हामीले रङका बाल्टिहरु उत्पादन गर्न शुरु गरेको भर्खरै सात महिना जतिमात्र भयो । नेपालमा रङको बजार एकदमै राम्रो छ । यो छोटो समयमा नै हामीले ६÷७ वटा रङ कम्पनीसँग सम्झौता गरेर बाल्टिको उत्पादन शुरु गरिसकेका छौं । यसबाट म एकदमै सन्तुष्ट छु ।

० उपभोक्ताले सामानको गुणस्तर कसरी पत्ता लगाउने त ? – बाहिरबाट हेरेकै भरमा त्यसको गुणस्तर पत्ता लगाउन सकिदैन । बजार र व्यापार भनेको विश्वासमा नै चलेको हुन्छ । सर्वसाधरणले तौलको माध्यमबाट केही थाहा पाउने हुन् । तर, तौल बढि भएका सबै राम्रा र तौल कम भएका नराम्रो पक्कै पनि होइन । कतिपय ट्याङ्कीहरु तौल कम भएर पनि धेरै टिकाउ हुने खालका छन् । उपभोक्ताले प्रयोग गरेपछि नै त्यसको गुणस्तर कस्तो भन्ने पत्ता लगाउने हुन् । जस्तैः हामीले उत्पादन गर्दै आएको ‘इको बुलेट प्रुफ’ ट्याङ्की २० वर्षसम्म विग्रिएमा उपभोक्ताले पुनः अर्को ट्याङ्की पाउने छन् । अब उपभोक्ताले नै प्रयोग गरेर त्यसको टिकाउ र गुणस्तर मापन गर्ने हो ।

० प्लास्टिकजन्य सामानहरु उत्पादन गर्ने कम्पनीहरुबीच कत्तिको प्रतिस्पर्धा छ ? – एकदमै प्रतिस्पर्धा छ । साँचो कुरा भन्ने हो भने नेपालका व्यापारीहरुले अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन् कि भन्ने पनि लाग्छ । पछिल्लो समयमा गुणस्तर घटाउँदै जाने र मूल्यमा प्रतिस्पर्धा गर्ने चलन बढ्दै गएको छ । ठूला कम्पनीहरुले पनि आफ्नो उपस्थितिलाई जारी राख्नका लागि तल्लो स्तरको प्रतिस्पर्धामा उत्रिदा झन चुनौती थपिएका छन् ।

० यसरी व्यापारी–व्यापारीबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा उपभोक्तामाथि असर गर्दैन ? – यसमा उपभोक्तालाई खासै असर पर्दैन । प्रतिस्पर्धाकै कारण उपभोक्ताले केही भएपनि सस्तोमा समान खरिद गर्न पाएका छन् । तर, उपभोक्ताले बुझ्नुपर्ने कुरा के हो भने एउटा व्यापारीले कुनै पनि सामान सस्तो मूल्यमा दिन्छ भने त्यसको गुणस्तरमा प्रश्न चिन्न उठेकै हुन्छ । हुनत म पनि व्यापारी नै हुँ तरपनि मैले मेरो लगानी भन्दा कममा त व्यापार गर्न सक्दिन । त्यसैले यो विषयमा उपभोक्ता स्वयम् जानकार हुनुपर्छ । जस्तैः मैले १० हजार रुपैयाँमा बेचिरहेको ट्याङ्की अर्को कुनै कम्पनीले आठ हजारमा दिन्छ भने त्यसमा पक्कै पनि लगानी कम परेको हुनुपर्छ ।

० व्यापारलाई कसरी अगाडि बढाइरहनु भएको छ ? – व्यापारमा मैले सबैभन्दा पहिला इमान्दारितालाई प्राथमिकतामा राखेर काम गर्दैै आएको छु । व्यापारमा इमान्दारिता भएन भने त्यो धेरै समय टिक्न सक्दैन । यो व्यापारलाई पुस्तौ पुस्तासम्म अगाडि बढाउनु पर्छ भन्ने मान्यता बोकेर इमान्दारिताका साथ उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै आफ्नो व्यापारलाई अगाडि बढाइरहेको छु ।

० इको पोलिमर्ससँगको चार वर्षको अनुभव कस्तो छ ? – चार वर्षको अनुभव सुनाउनु पर्दा प्लास्टिक व्यवसायीहरुले धेरै दुःख पाएका छन् । हुनत म अन्य व्यवसायमा पनि आवद्ध छु । तर, प्लास्टिकजन्य सामाग्री उत्पान गर्ने इको पोलिमर्ससँग रहेको अनुभवमा भने व्यपारीहरुले धेरै दुःख पाएको प्रत्यक्ष देखेको छु । हामीलाई सबैभन्दा समस्या विजुलीबाट भएको छ । समयमा विजुलबत्ति आपुर्ति नहुँदा यो व्यवसाय नै धरापमा परेको छ । हामीलाई कुनै पनि सामान उत्पादन गर्नका लागि एक घण्टाभन्दा बढि मेसिन तताउनु पर्छ तर, जब मेसिन तात्न शुरु गर्छ लोडसेडिङ पुनः शुरु भइहाल्छ । जसले गर्दा उत्पादनमा एकदमै समस्या देखिएको छ । तर, अहिले नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ आएपछि मात्र हामीले केही राहतको महसुस गरेका छौं । सरकारको वेवास्ता, ट्याक्स, भन्सारमा देखिने समस्या, विभिन्न राजनीतिक दलका चन्दा आतंक, मजदुरु संगठनलगायतले हामी एकदमै मर्कामा परेका छौं । नेपामा उद्योग चलाउन धेरै भन्दा धेरै चुनौतीहरुको सामना गर्नुपर्छ । तर पनि हामीले आफ्नै देशमा केही गर्नुपर्छ भनेर अगाडि बढिरहेका छौं । राम्रो नजरले हेर्ने हो भने नेपालको बजार एकदमै राम्रो छ । यदि सरकारले यस विषयमा सोच्ने हो भने नेपालमा काम गर्न सहज छ । दैनिक हजारौंको संख्यामा नेपालीहरु विदेश गइरहेका छन् । ति युवाशक्तिलाई मात्र स्वदेशमै राखेर काम दिन सक्ने हो भने उनीहरुले पनि खाडी मुलुकमा श्रमसँग रगत र पसिना साट्नु पर्दैन भने देशको विकास पनि तिव्र गतिमा अगाडि बढ्छ । हाम्रो चाहना भनेको सरकारले काम गर्ने वातावरण मात्र बनाइदिए हुन्छ । काम त हामी आफै गर्छौं नि ।

० कम्पनीलाई कसरी अगाडि बढाइरहनु भएको छ ? – कुनै पनि कम्पनी सिस्टममा चल्ने हो । हामीले सिस्टम बनाएका छौं । त्यहि सिस्टम अनुसार नै अगाडि बढाइरहेको छु । जसले गर्दा खासै अप्ठेरो परेको छैन । मैले अघि पनि भने सबैभन्दा पहिलो कुरा भने इमान्दारिताका साथ काम ग¥यो भने त्यसमा कुनै पनि बाधा र अप्ठेराहरु आउँदैनन् । इको पोलिमर्समा काम गर्ने हामी सबै इमान्दारिताका साथ अगाडि बढिरहेका छौं । जसले गर्दा म्यानेज गर्न मलाई पनि सहज भएको छ ।

० आम उपभोक्ताहरुलाई के भन्नुहुन्छ ? – उपभोक्ता भनेको हाम्रो भगवान नै हुन् भन्दा फरक नपर्ला । उहाँहरुको साथ र सहयोगबाट हामीले उद्योग सञ्चालन गरिरहेका छौं । उहाँहरुलाई म के आग्रह गर्छु भने ट्याङ्की र पाइप प्रयोग गर्ने विषयमा अलि बढि सचेत हुनुहोला । हामीले पिउनका लागि प्रयोग गर्ने पानीका लागि कस्तो ट्याङ्की र पाइप प्रयोग गरिरहेका छौं भन्ने विषयमा सचेत रहन आवश्यक छ । हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले प्लास्टिक जन्य सामान किन्दा त्यसको गुणस्तरलाई ध्यान दिऔं ।

प्रतिक्रिया

सम्बन्धित