ट्रम्पलाई पहिलै गाँसमै ढुंगा, संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकद्धारा आलोचना
काठमाडौं : नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीलाई कडाई गर्न आदेश दिएलगत्तै अमेरिकी विमानस्थलबाट झण्डै दुई सय शरणार्थीहरु पक्राउ परेका छन् । शुक्रबार ट्रम्पले सिरियाली आप्रवासीलाई अर्को सूचना जारी नभएसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुका साथै अरु ७ मुस्लिम मुलुक इराक, इरान, लिविया, सोमालिया, सुडान र यमनका नागरिकलाई पनि अमेरिका प्रवेशमा तीन महिनाका लागि रोक लगाइने घोषणा गरेका थिए । राष्ट्रपतिको आदेशसँगै अमेरिकी विमानस्थलहरुमा निकै कडाइ गरिएको छ । बीबीसीले १०० देखि २०० को संख्यामा विमानस्थलको ट्रान्जिटमा नियन्त्रणमा लिइएको जनाएको छ । केहीलाई नियन्त्रणमा लिंदै छाड्ने गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । न्यूयोर्कमा हिरासतमा लिइएका शरणार्थीलाई रिहाई गर्न केही मानवअधिकारवादी संगठनहरुले कानूनी बाटो अपनाएका छन् । न्यूयोर्ककै सांसद जेरी नैडलरले अरु ११ शरणार्थीको मद्दतका लागि आफूले काम गरिरहेको जानकारी दिएका छन् । ट्रम्पको यो कदमपछि अमेरिकामा शरणार्थी बनेर बसेकाहरुको अब कन्तविजोग हुने निश्चित छ । त्यसैले पनि अहिले ट्रम्पको आदेशको सर्वत्र विरोध भइरहेको छ । अमेरिकी आदेशको संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकहरुले समेत आलोचना गरेका छन् । इस्लामिक मुलुकहरु पनि अमेरिकी नीतिप्रति क्रुद्ध भएका छन् । ईरानले यो इस्लामिक विश्वको अपमान भएको भन्दै जवाफ फर्काइने र अमेरिकीलाई पनि ईरान आउन नदिने चेतावनी दिएको छ । अमेरिकाको शिकार हुनेमा एक इरानी वैज्ञानिक पनि परेका छन् । कार्डियोभास्कुलर मेडिसिन सम्बन्धी हवार्ड विश्वविद्यालयमा पढ्दै गरेका उनको भिसा नै निलम्बन गरिएको छ ।
प्रतिक्रिया