सोलोमोन द्विप र पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प, सुनामीको खतरा
काठमाडौं : सोलोमोन द्विप र पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । सोलोमोन द्धिपमा स्थानीय समयानुसार आइतबार अपराह्न १२ः३० मा ७.९ म्याग्निच्युडको भूकम्प गएको हो भने पपुवा न्यु गिनीमा आइतबार ८ म्याग्निच्युडको भूकम्प गएको हो । सोलोमोनको भूकम्पको केन्द्रबिन्दु द्विप समूहको आसपास इलाकाको समुद्र मुन्तिर १६० किलोमिटर गहिराईमा रहेको चाइना भूकम्प सञ्जाल केन्द्र (सिइएनसी)ले जनाएको छ । पपुवा न्यु गिनीमा गएको भूकम्पपछि विशाल सुनामी आउन सक्ने चेतावनी दिइएको प्रशान्तमहासागरीय सुनामी चेतावनी केन्द्रले जनाएको छ । पपुवा न्यु गिनीमा गएको भूकम्पको केन्द्रविन्दु भने आरावानजिकै दक्षिणी प्रशान्त महासागरिय इलाकाको समुद्रको १६७ किलोटिर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । दक्षिण–पश्चिमी प्रशान्त महासागरमा अवस्थित मेलानेसिया महाक्षेत्रभित्र रहेका यी दुबै देशमा गएको भूकम्पबाट मानवीय र भौतिक सम्पत्ति क्षति भए नभएको कुनै पुष्ट समाचार प्राप्त भइनसकेको बताइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले भने दुबै देशमा गएका भूकम्पको मापन ८.२ म्याग्निच्युड रिक्टर स्केलको भएको जानकारी दिएको छ । हाल भूकम्प गएका दुबै मुलुकहरु भौगर्भिक हिसाबले क्रियाशील र जोखिमयुक्त प्रशान्त महासागरीय अग्निचक्र (प्यासिफिक रिङ्ग अफ फायर) को घेराभित्र पर्दछन् । –एजेन्सी
प्रतिक्रिया