विद्यार्थीलाई दिने सेवा र सुविधाप्रति जिम्मेवार छौं

अन्तर्राष्ट्रिय डिग्रीसहित उज्ज्वल भविश्यको खोजीमा विदेश जाने नेपाली विद्यार्थीको लर्को दिन प्रतिदिन बढिरहेको बेला नेपालमा स्थापना भएका एजुकेशन कन्सलटेन्सीहरु पनि व्यवस्थित र मर्यादित बन्दै गएका छन् । राज्यले पनि कन्सलटेन्सी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनका लागि आफ्नो नीति तथा नियमहरुमा परिवर्तन गर्दैछ । तर, पछिल्लो समय शिक्षा मन्त्रालयले बनाउन लागेको नीति भने विवादित बनेको छ । राज्य सक्रिय भएको अहिलेको अवस्थालाई सकारात्मक रुपमा लिनु पर्ने बताउँदै अहिले बन्न लागेको नीतिमा सुरक्षण कोष र ग्रेडिङको विषय राखेपछि कन्सलटेन्सी क्षेत्र व्यवस्थित बन्ने भन्दा पनि यो व्यवसाय नै धरापमा पर्ने बताउनु हुन्छ एजुकेशन प्लानेटका अध्यक्ष एम. एल. लामिछाने (नयन) । व्यवसायीहरुलाई छिटै कमाउने भन्दा पनि यहि पेशालाई नै आफ्नो भविश्य सम्झेर गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै स्वच्छ प्रतिस्पर्धामा उत्रन आग्रह गर्दै अध्यक्ष लामिछाने विद्यार्थीहरुलाई पनि उचित कन्सलटेन्सीको माध्यमबाट गुणस्तरिय शैक्षिक परामर्श लिन आग्रह गर्नुहुन्छ । अध्यक्ष लामिछानेसँग इप्लानेटको अवस्था, इप्लानेटले गर्ने काम, समग्र कन्सलटेन्सी क्षेत्रको अवस्था, सरकारले बनाउन लागेको नयाँ नीतिलगायतका विषयमा mynewsnepal.comका लागि कुमार भण्डारीले गरेको कुराकानी :

nayanएम. एल. लामिछाने (नयन), अध्यक्ष – एजुकेशन प्लानेट प्रा.लि.

० इप्लानेट कस्तो संस्था हो ? – उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्नका लागि सन् २००५ मा स्थापना भएको एजुकेशन कन्सलटेन्सी हो, इप्लानेट । स्थापना कालदेखि नै हामीले विद्यार्थीहरुलाई विदेश पठाउने मात्र नभई विद्यार्थीहरुको हक हितमा काम गर्दै आएका छौं । स्थापनाका समयमा हामीले नेपाली विद्यार्थीहरुलाई अमेरिका अष्ट्रेलियालगायतका देशमा पठाउँदै आएता पनि अहिले भने हामीले अष्ट्रेलियाका लागि मात्र काम गर्दै आएका छौं । हामी विद्यार्थीहरुलाई दिने सेवा र सुविधाप्रति बढि जिम्मेवार छौं ।

० संस्थालाई कसरी अगाडि बढाइरहनु भएको छ ? – विद्यार्थीहरुलाई बढि भन्दा बढि गुणस्तरिय शैक्षिक सूचनाहरु प्रदान गरेर उनीहरुकै सेवा र सुविधाप्रति जिम्मेवार बनेर हामी अगाडि बढिरहेका छौं । विद्यार्थीहरुलाई मात्र नभई अभिभावकहरुलाई पनि हामीले परामर्श प्रदान गर्दै आएका छौं । हामीले काम गर्ने देश र त्यहाँका शैक्षिक संस्थाहरुका बारेमा पूर्ण जानकार भई त्यहि सूचनाहरु विद्यार्थीहरुलाई प्रदान गर्दै हामी अगाडि बढिरहेका छौं ।

० इप्लानेट स्थापनाको मुख्य उद्देश्य के हो ? – हाम्रो मुख्य उद्देश्य भनेको उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्नु नै हो । नेपालबाट उच्च शिक्षाका लागि विदेश पुगेका विद्यार्थीहरुले जानु पूर्व र गइसकेपछि कुनै पनि झण्झट व्यहोर्नु नपरोस भन्नका लागि नै हामीले इप्लानेटको स्थापना गरेका हौं ।

० स्थापनाकालदेखि अहिलेसम्म इप्लानेटबाट कति विद्यार्थीहरु लाभान्वित भएका छन् ? – इप्लानेटबाट हालसम्म दुई हजार भन्दा बढि विद्यार्थीहरु विदेशिएका छन् भने धेरै भन्दा धेरै विद्यार्थीहरुले हाम्रो सेवा र सुविधा प्राप्त गरेका छन् ।

० इप्लानेट र अन्य कन्सलटेन्सीमा के फरक छ ? – हामीले अहिले अष्ट्रेलिया बाहेक कुनै पनि देशमा नेपाली विद्यार्थीहरु पठाउँदैनौं । धेरै देशका लागि काम गरेर विद्यार्थीहरुलाई उचित परामर्श प्रदान गर्न पनि कठिन हुन्छ । त्यसैले हामीले एउटा देशका लागि मात्र काम गर्दै आएका छौं । हामीसँग अष्ट्रेलियन शिक्षामा दक्षता हासिल गर्नुभएका साथीहरु हुनुहुन्छ । हामीले विद्यार्थीहरुलाई धेरै भन्दा धेरै गुणस्तरिय शैक्षिक सूचनाहरु प्रदान गरिरहेका हुन्छौं । त्यसैले पनि धेरै विद्यार्थीहरुले इप्लानेटलाई नै रुचाएका छन् ।

० विद्यार्थीहरुले इप्लानेटबाट के–के सुविधा लिन सक्छन् ? – विद्यार्थीहरुले इप्लानेटबाट उच्च शिक्षाका लागि विदेश जानु पूर्व लिनुपर्ने तयारी कक्षा देखि गुणस्तरिय शैक्षिक परामर्श र डकुमेन्टेसन सम्बन्धि सेवा र सुविधा लिन सक्छन् ।

० अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको चाप कस्तो छ ? – अन्तर्राष्ट्रिय डिग्री लिनका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्था छ । पछिल्लो समयमा अष्ट्रेलियाले आप्mनो नीतिमा परिवर्तन गरेपछि नेपाली विद्यार्थीहरु झन अष्ट्रेलियातर्फ आकर्षित भएका छन् । अष्ट्रेलियन सरकारले एसएसभिएफ लागु गरेपछि झन सहजता भएको हामीले पाएका छौं ।

० नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश गइरहँदा एकातिर युवशक्ति विदेश पलायन भए भने अर्कोतिर वर्षेनी करोडौं रुपैयाँ विदेशिएको छ भन्दै विवादित पनि बन्दै आएको छ नि ? – अन्य व्यक्तित्वहरुले जसरी व्याख्या गरेपनि मैले चाहिं यसलाई सकारात्मक रुपमै लिएको छु । मैले आफू एउटा कन्सलटेन्सी व्यवसायी भएकै भरमा चाहिं सकारात्मक रुपमा लिएको पक्कै होइन । हो, नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाँदा एकातिर युवा शक्ति विदेश पलायन भएका छन् भने अर्कोतर्फ करौडौं रुपैयाँ विदेशिएको पनि छ । केही पाउन केही त गुमाउन प¥यो नि । भविश्यलाई हेर्ने हो भने जो कोहीले पनि यसलाई सकारात्मक रुपमै लिनुहुन्छ जस्तो लाग्छ । राज्यले चाहेको खण्डमा युवा शक्ति र नेपालबाट विदेशिएको रकम सजिलै फिर्ता हुन्छ । नेपाली विद्यार्थीहरु अन्तर्राष्ट्रिय डिग्री सहित हातमा सिप बोकेर नेपाल फर्कने अवस्था राज्यले सिर्जना गरेको खण्डमा जति रकम नेपालबाट बाहिरिएको थियो, त्यसको कयौं गुणा बढि स्वदेशमा भित्रन्छ । जसले नेपालको झन छिटो विकास हुन्छ ।

० अहिलेको अवस्थामा अष्ट्रेलिया पुगेका कति नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका छन् ? – अहिलेको अवस्थालाई मूल्यांकन गर्ने हो भने स्वदेश फर्कने नेपाली विद्यार्थीको संख्या एकदमै कम छ । यसको पछाडि राज्यकै हात छ जस्तो मलाई लाग्छ । अन्तर्राष्ट्रिय डिग्री र हातमा सिप बोकेका नेपाली विद्यार्थीहरुले नेपालमा आएर त्यसको सदुपयोग गर्ने स्थान नपाउँदा उनीहरु विदेश पलायन हुन बाध्य छन् । त्यसैले सरकारले उनीहरुले आफ्नो सीपको सदुपयोग गर्ने ठाउँको सिर्जना गर्ने हो भने एकातिर नेपाली युवा शक्ति दक्ष भएर नेपाल फर्कने थिए ।

० उच्च शिक्षाको खोजीमा नेपाली विद्यार्थीहरु विदेशिनुको कारण के हो ? – सबैभन्दा पहिलो कुरा त अन्तर्राष्ट्रिय डिग्रीको मोह नै हो । अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षाको खाँचो महशुस गरेर नै नेपाली विद्यार्थीहरु विदेशिएका हुन् । नेपालको कुरा गर्ने हो भने राजनीतिक स्थिरता नहुँदा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षाको पहुँच नहुनु, शैक्षिक वातावरण नहुनु, समयानुकुल कोर्ष परिवर्तन हुन नसक्नु, विद्यार्थीहरुले खोजेको र रोजेको विषय पढ्ने अवसर प्राप्त नगर्नुलगायतका कारण रहेका छन् । अर्को कुरा नेपालमा पढाईपछिको भविश्य के भन्न प्रश्न खडा भएको छ । अष्ट्रेलिया पुगेका विद्यार्थीले अध्ययनपछि जुन मौका पाउँछन् नेपालमा त्यस्तो अवस्था छैन । डिग्री होल्डर भएर पनि नेपालमा उचित रोजगारी नपाउँदा नेपाली विद्यार्थीहरु मर्कामा परिरहेको अवस्था छ ।

० कन्सलटेन्सीहरुको अहिलेको अवस्था कस्तो छ ? – एजुकेशन कन्सलटेन्सीहरुको पछिल्लो अवस्था हेर्ने हो भने केही हदसम्म राम्रो नै छ भन्नुपर्छ । तर, अहिले बढि प्रतिष्पर्धाको भएकाले धेरै कन्सलटेन्सीहरु जुन स्थानमा पुग्नुपर्ने हो, त्यो स्थानसम्म नपुगेको मैले पाएको छु । यसमा कन्सलटेन्सी के का लागि भन्ने प्रश्न पनि उठ्छ । आप्mनो इज्जतका लागि हो कि, पैसा कमाउनकै लागि कि अथवा विद्यार्थीहरुलाई उचित परार्श प्रदान गरेर उनीहरुको भविश्य उज्ज्वल बनाउनका लागि हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । वजारलाई मूल्यांकन गर्ने हो भने एक हजार भन्दा बढि कन्सलटेन्सी रहेको अहिलेको अवस्थामा सक्रिय कन्सलटेन्सीको संख्या कम छ । समग्रमा भन्नुपर्दा एउटा उद्योगको रुपमा अगाडि बढ्दै गएको कन्सलटेन्सी क्षेत्रको पछिल्लो अवस्था राम्रो छ ।

० तपाईहरुले गुणस्तरिय शैक्षिक परार्मश प्रदान गरिरहेको बताइरहँदा कयौं नेपाली विद्यार्थीहरु विदेश पुगेर समस्यामा परिरहेका छन् नि ? – हो, कतिपय विद्यार्थीहरु समस्यामा परेको कुरा झुटो होइन । तर, समस्यामा पर्नुका कारण कन्सलटेन्सी मात्र जिम्मेवार हुँदैन । समस्यामा पर्नुका दुईवटा कारणहरु छन् । पहिलो कारण भनेको विद्यार्थी स्वयम् र दोस्रो कारण चाहिं कन्सलटेन्सी नै हो । विद्यार्थीहरु आफू जाने स्थानका बारेमा पूर्ण जानकार नभई जानु नै उनीहरुको कमजोरी हो । नेपालमा जानकारी लिने भन्दा पनि लहलहैमा लागेर विदेश जाने परिस्थितिको सिर्जना भएकाले पनि विद्यार्थीहरु समस्यामा परेका हुन् । अर्को कारण कतिपय कन्सलटेन्सीहरुले विद्यार्थीको चाहना भन्दा बाहिर बसेर काम गरिदिंदा पनि समस्या देखिएको हो । कन्सलटेन्सी र विद्यार्थी आफै यो विषयमा सिरियस भइदिने हो भने समस्या आफै कम हुँदै जान्छन् । त्यसैले म विद्यार्थीहरुलाई सहि कन्सलटेन्सी छानेर परामर्श लिन आग्रह गर्दछु ।

० पछिल्लो समय कन्सलटेन्सी क्षेत्र विवादित बन्दै गएका छन् नि ? – कन्सलटेन्सी क्षेत्र विवादित बन्नुको मुख्य कारण यस क्षेत्रमा प्रवेश गरेका केही व्यवसायीहरु नै हुन् । उनीहरुले यो पेशालाई आफ्नो भविश्य हो भनेर नसोच्दा नै विवादित बन्दै गएको हो । यो पेशा नै मेरो भविश्य हो भन्नेहरुले कहिल्यै पनि यो पेशालाई विवादित बनाउन चाहँदैनन् । छिटै पैसा कमाउने र अर्को पेशामा लाग्ने सोच बनाएर कन्सलटेन्सी क्षेत्रमा पइला चालेका केही व्यवसायीहरुका कारण नै विवादिन बनेको मैले पाएको छु । यसका लागि सरकार र छाता संस्थाहरुले नै कदम चाल्नुपर्ने अवस्था आएको छ । कुन प्रक्रिया अपनाउँदा विद्यार्थी, अभिभावक र कन्सलटेन्सीहरुले अनावश्यक झन्झट व्यहोर्नु पर्दैन सरकारले त्यो कदम उठाउन पर्दछ ।

० शिक्षा मन्त्रालयले पछिल्लो समयमा ल्याउन लागेको नीति आउनु पूर्व नै विवादित बनेको छ नि ? – राज्य सक्रिय भएको अहिलेको अवस्थालाई हामी कन्सलटेन्सी क्षेत्रका व्यवसायीहरुले सकारात्मक रुपमा लिनै पर्छ । राज्य नै यो क्षेत्रलाई पछि लागेको खण्डमा व्यवस्थित र मर्यादित पनि बन्दै जान्छ । तर, अहिले बन्न लागेको नीतिमा सुरक्षण कोष र ग्रेडिङ गर्ने जुन विषय उठेको छ, त्यसले चाहिं हामीलाई फाइदा पु¥याउने भन्दा पनि यो व्यवसायलाई नै अप्ठेरोमा पार्ने देखिन्छ । शिक्षा मन्त्रालयले हचुवाको भरमा यस्ता नीति बनाउँदा यो सबैका लागि हानिकारक बन्न सक्छ । कसैलाई पनि असर नपर्ने गरी सबैलाई मान्य हुने खालको नीति नियम बनाउनु पर्छ ।

० विद्यार्थी तथा अभिभावकलाई के भन्नुहुन्छ ? – सबैभन्दा पहिला त म उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई उचित शैक्षिक परामर्श केन्द्रमा गई गुणस्तरिय शैक्षिक परामर्श लिन आग्रह गर्दछु । यतिमात्र होइन अहिले भनेको इन्टरनेटको जमाना हो । घरमै बसेर विश्वका कुना कुनाका जानकारी लिन सकिन्छ । आफूले पनि आफू जाने देश, त्यहाँको शैक्षिक अवस्था, रहनसहन, वातावरण लगायतका बारेमा बुझ्नुपर्छ । जसले गर्दा उनीहरुले भविश्यमा समस्या भोग्नु पर्दैन । अर्को कुरा अभिभावकहरुले पनि आफ्नो सन्तान कुन देशमा जाँदैछ, त्याहाँ गएर के गर्दैछ, त्यहाँको अवस्था कस्तो छ, उसलाई त्यस ठाउँमा पढाउन सकिन्छ कि सकिंदैन, पढिसकेपछिको उसको भविश्य के हो लगायतका विषयमा पहिले नै बुझ्नुपर्छ । जुन कुरा हामीले प्रदान गर्दै आएका छौं । त्यसका लागि उहाँहरुलाई म स्वागत गर्दछु ।

० कन्सलटेन्सी पेशामा आवद्ध हुनुभएका व्यवसायीहरुलाई के भन्नुहुन्छ ? – सबैभन्दा पहिले म उहाँहरुलाई यति राम्रो पेशामा आवद्ध हुनु भएकोमा शुभकामना दिन चाहन्छु । हाम्रो पेशा भनेको एकदमै संवेदनशिल पेशा हो । हामी भनेका डाक्टर जस्तै हौं । एउटा डाक्टरले सानो गल्ती गर्नले कसैको ज्यान जान सक्छ भने हाम्रो सानो गल्तीले पनि कसैको भविश्य विग्रन सक्छ । त्यसैले सबैभन्दा पहिले हामी संवेदनशिल बन्नुपर्छ । विद्यार्थीको चाहनालाई मध्यनजर गरेर हामीले काम गर्नुपर्छ । छिटै कमाउने भन्दा पनि यहि पेशालाई नै आफ्नो भविश्य सम्झेर गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै स्वस्च्छ प्रतिस्पर्धामा उत्रन आग्रह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित