नेपालमै पहिलो पटक भक्तपुरमा शुक्रबारदेखि अन्तरनगर पुरुष खो खो प्रतियोगिता हुने

kHO kHO
भक्तपुर ।
नेपालमै पहिलो पटक भक्तपुर नगरपालिकाले शुक्रबारदेखि अन्तरनगर पुरुष खो खो प्रतियोगिता गर्ने भएको छ।

नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेकोमा पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न भइसकेको जनाए। यो वर्ष अन्तर नगर खो खो प्रतियोगिता हुने उनले जनाए। प्रतियोगिताका लागि यसअघि नै प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १३५ सदस्यीय मूल समिति र ११ वटा उपसमितिहरू गठन गरिसकेका थिए।


नेपाल खो खो संघ, भक्तपुर जिल्ला खो खो संघबाट मान्यता प्राप्त खो खो प्रतियोगिता आजसम्म विभिन्न १४ वटा नगरपालिकाहरूबाट लिखित र मौखिक रुपमा भाग लिन नाम दर्ता गराइसकेको जानकारी सम्मेलनमा गराइयो। नाम दर्ताको अन्तिम समय भने आज साँझ ५ बजेसम्म रहने जनाइएको छ।

अन्तरनगर खो खो प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर नपाले आयोजना गरेको जनाइएको छ। खो खो खेलको प्रतियोगितामा यस अगाडि नगद पुरस्कारको व्यवस्था कहिल्यै नभएको र भक्तपुर नगरपालिकाले प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कारको व्यवस्था गरेको जनाएको छ। साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था पनि गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित