यसरी गरे ओवामाले ट्रम्पको स्वागत

obama-trump2काठमाडौं : अमेरिकी राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागत गरेका छन् । भेटपछि ट्रम्पले ओबामासँगको भेट आफ्नो लागि सम्मानको विषय भएको बताएका छन् भने ओबामाले यो भेटलाई शानदार भनेका छन् ।ओवल कार्यालयमा डेढ घन्टासम्म चलेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ओबामाले आफूहरुबीच घरेलु र अन्तर्राष्ट्रिय मामिलामा कुराकानी भएको बताए । ओबामाले भने–‘म नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यही भन्न चाहन्छु कि उनी सफल हुन् । किनकी उनको सफलतामा नै अमेरिकाको सफलता लुकेको छ ।’ उनका अनुसार भेटमा सत्ता हस्तान्तरणका साथसाथै विदेश नीतिबारे पनि कुराकानी भएको छ । र, ट्रम्पले जसरी आफ्नो टिमसँग मिलेर काम गर्न चाहेका छन, त्यसबाट आफू प्रभावित भएको समेत ओबामाले बताए । ट्रम्पले पनि भेटका लागि ओबामालाई धन्यवाद दिए । उनले भने–‘हामीले अमेरिकाको उपलब्धीका साथसाथै चुनौतीको पनि चर्चा गर्यौं । म अमेरिकाको हितका लागि राष्ट्रपति बाराक ओबामासँग मिलेर काम गर्न चाहन्छु । मलाई भविश्यमा उनको सल्लाह आवश्यक छ ।’ भेटका लागि ट्रम्प न्यूयोर्कबाट आफ्नो निजी विमानमा वासिङटन एयरपोर्टमा उत्रिएका थिए । उनीसँग पत्नी मेलानिया पनि थिइन, जसले अमेरिकाकी वर्तमान प्रथम महिला मिशेल ओबामासँग भेट गरेकी छन् । राष्ट्रपति पदको चुनावका क्रममा ओबामा र ट्रम्पबीच आरोप प्रत्यारोप भएको थियो । ट्रम्पले ओबामाको अमेरिकी नागरिकतामाथि प्रश्न उठाएका थिए भने ओबामाले पनि उनलाई यो पदका लागि अयोग्य घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित