खुकुरी प्रहार गरी युवतीको हत्यापछि युवकद्वारा आत्महत्या प्रयास, गम्भीर घाइते

Dead
संखुवासभा ।
संखुवासभाको खाँदबारी नगरपालिका १, घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या भएको छ । सभापोखरी गाउँपालिका १ घर भई खाँदबारी १ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार सभापोखरी गाउँपालिका १ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेका हुन् । उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन् । गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । गदाल बिहीबार मात्र नेपाल प्रहरीको तीन महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ ।

गए राति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ । बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको कारण भने खुल्न नसकेको डीएसपी गोदारले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित