दुस्मनसँग पनि मित्रता हुन्छ : नवनिर्वाचित राष्ट्रपति ट्रम्प
रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा विजयी भएका छन् । बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् । राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक थियो । विजयलगत्तै सम्बोधन गर्दै ट्रम्पले विश्वका सबै देशलाई न्यायपूर्ण व्यवहार गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हामी विश्वका सबै देशलाई न्यायपूर्ण व्यवहार गर्नेछौं,’ उनले भने । उनले दुस्मनसँग पनि मित्रता हुने बताए । उनले अमेरिकाको विकास दर दुई गुणाले बढाउने प्रतिबद्धता जनाएका छन्। आफूलाई राष्ट्रपति निर्वाचित गर्ने अमेरिकी जनताप्रति उनले धन्यवाद ज्ञापन गरे। चुनाबी नतिजा सार्वजनिक भए लगत्तै न्युयोर्कमा उनले सार्वजनिक सम्बोधन गरेका हुन्। ‘म सबै अमेरिकीको राष्ट्रपति हुँ। मेरो जित अमेरिकालाई माया गर्ने हरेकको जित हो’, उनले भने–‘हाम्रो चुनाब फगत प्रचार थिएन बरु एउटा अभियान थियो। हामी अमेरिकाको पुनःनिर्माण गर्नेछौं। अमेरिकीको सपना पूरा गर्नेछौं।’ अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउँदै विकास दर दुई गुणले बढाउने उनले बताए। ‘हामीसँग एउटा विशेष आर्थिक योजना छ। हामी अमेरिकी अर्थतन्त्रलाई दुई गुणाले बढाउनेछौं। हामी अमेरिकालाई गजब र शानदार बनाउनेछौं। हामी उज्जवल भविष्यतर्फ अग्रसर हुनेछौं। साथसाथै काम गरेर हामी अमेरिकाको सपना पूरा गर्नेछौं’, उनले भने। ट्रम्पले प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले फोन गरेर आफूलाई बधाई दिएको बताए । राष्ट्रपति चुनावमा पराजित हिलारीले भने सम्बोधन नगर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया