भारतले जित्यो साफ च्याम्पियनसिप फुटबलको उपाधि

काठमाडौं । कुवेतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि उचालेको छ।

भारतको बेंगलोरमा भएको फाइनल प्रतिस्पर्धाको निर्धारित ९० मिनेट र थप भएको अतिरिक्त समयको खेल १–१ को बराबरी भएपछि निर्णय पेनाल्टी सुटआउटमार्फत भएको हो । पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै भारतले उपाधि उचालेको हो ।

फाइनलमा कुवेतका शबैशअल खाल्दीले खेलको १४ औं मिनेटमै सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा भारतका लल्लियान्जुआला चाग्तेले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् ।

पेनाल्टी सुटआउटमा कुवेतका कप्तान खालिद हाजियाको प्रहार गोलकिपर गुरप्रित सिंह सन्धुले रोकेपछि भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।

समूह चरणको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । योसँगै भारतले साफको उपाधि नवौं पटक उचालेको छ । भारतले उपाधिसँगै ५० हजार अमेरिकी डलर पाएको छ भने उपविजेता २५ हजार अमेरिकी डलर पाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित