प्रधानमन्त्रीलाई लक्षित गरेर दाङमा बम विस्फोट, म्यादी प्रहरीसहित आठ घाइते

तुलसीपुर : प्रधानमन्त्री शेरबहाद्ुर देउवालाई लक्षित गरी दाङको तुलसीपुरमा अज्ञात समूहले बम विस्फोट गराएका छन् । बम विस्फोटमा परी म्यादी प्रहरीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–५ घ लाइनको डिलाईट कर्नर पसल छेउमा बम विस्फोट भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा ५ सय मिटर नजिकैको अरनीको मैदानमा आयोजित सभालाई सम्बोधन गर्न जाँदै गर्दा बम विस्फोट भएको थियो । घाइते हुनेहरुमा म्यादी प्रहरी विनोद चौधरीका साथै स्थानीय देवी डिसी, सुनिता चौधरी, नरदेवी बुढाथोकी, बमराज सुनार, नेवबहादुर केसी, पार्वती केसी र हिमलाल रसाइली रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । गम्भीर घाइते डिसीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने अन्य घाइतेहरुको अञ्चल अस्पताल तुलसीपुरमै उपचार भइरहेको छ । घटनापछि तुलसीपुरमा व्यापक सुरक्षाकर्मी परिचालन भएका छन् । घटनाबारे अनुसन्धान गरी बम विस्फोट गराउनेको तीव्ररुपमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित