इपीएलको पहिलो खेलमा ललितपुर विजयी

काठमाडौं : काठमाडौंमा सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको पहिलो खेलमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको टोली ललितपुर प्याट्रिअट्स विजयी भएको छ । कीर्तिपूरस्थित टियू क्रिकेट मैदानमा सोमबार भएको खेलमा ललितपुरले काठमाडौं किङ्स एलाभेनलाई ७ विकेटले पराजित गरेको हो । ललितपुरको जितमा भारतीय ब्याट्सम्यान जयकिसन कोल्सावालाले सर्बाधिक अविजित ४४ रन बनाए । ओपनर कोल्सावालाले ४८ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे । काठमडौंले दिएको ९० रनको सामान्य लक्ष्य ललितपुरले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । ललितपुरका लागि कप्तान मल्लले पनि २० रन बनाए भने अर्का ओपनर पवन सर्राफ खाता नखोली आउट भएपछि मल्ल र कोल्सावालाले दोस्रो विकेटका लागि ५४ रनको अर्धशतकीय साझेदारी गरेका थिए । ललितपुरका लागि अर्का भारतीय खेलाडी योगेश नागरले २ रनमात्र बनाउँदा राजवीर सिंहले अविजित १४ रन बनाए ।काठमाडौंका लागि मेरेनागे फर्नाण्डोले २ तथा सोमपाल कामीले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८९ रन बनाएको थियो । काठमाडौंका लागि अ‍ोपनर अमित श्रेष्ठले २७ रन बनाउनुबाहेक अन्यले सन्तोषजनक रन बनाउन सकेनन् । उसका लागि श्रीलंकाली ब्याट्सम्यान अक्षु पर्नाण्डेजले १५ र सोमपाल कामीले १४ रन बनाएका थिए । काठमाडौंका चार व्याट्सम्यान खाता नखोली पेविलियन फर्केका थिए । ४ ओभरमा १४ रन दिएर ३ विकेट लिएका नेपाली युवा बलर ललित भण्डारी खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतिक्रिया

सम्बन्धित