इतेहादले नेपालमै तेल भर्न थाल्यो
काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युनाईटेड अरब इमिरेट्स(युएई)को राष्ट्रिय ध्वजावाहक इतेहाद एयरवेजले नेपालमै हवाई इन्धन भर्न आदेश दिएपछि इतेहादले शनिबारदेखि नेपालमै तेल भर्न थालेको हो । शनिबार यो इतेहादले ९ हजार लिटर तेल भरेको थियो । नेपाल उडान भर्ने इतेहाद एयरवेजले भारतको लखनउमा डाइभर्ट गरेर हवाई इन्धन भर्दै आएको थियो । यो कम्पनीले लखनउमा गर्दै आएको टेक्निकल फ्लाइट समेत अब रोकिएको छ । अब कम्पनीले सिधै नेपालबाट आवुदावी उडान गर्नेछ । इतेहादले भारत डाइभर्ट गरेर तेल भर्दै आएको जानकारी आयोगले पाएपछि नेपालमा तेल नभरे उडाननै सस्पेन्ड गर्ने चेतावनी दिएको थियो । यो चेतावनीपछि इतेहादले नेपालमा तेल भर्न थालेको निगम उच्च स्रोतले बतायो । यो एयरलाइन्सले नाकाबन्दीपछि लखनउबाट तेल भर्दै आएको थियो । कम्पनीले अक्टोबरसम्म लखनउमा तेल भर्ने सम्झौैता गरेपनि अख्तियारको चेतावनीपछि नेपालबाटै तेल भर्न थालेको हो । नाकाबन्दीपछि अक्टोबरसम्म तेल लिने सम्झौता भएपनि उडानै सस्पेन्ड गर्ने चेतावनीका कारण नेपालमै तेल भर्न थालिएका इतेहाद स्रोतले जनाएको छ । स्रोतका अनुसार सम्झौता रद्ध गर्दा कम्पनीले केही रकम क्षति समेत ब्योहोरेको छ । नाकाबन्दीपछि नेपालमा उडान गर्ने २० हवाई कम्पनीमध्ये १९ कम्पनीले नेपालमै तेल भरिरहेका थिए भने इतेहादले मात्रै लखनउमा टेक्निकल उडान गरेर हवाई इन्धन भर्दै आएको थियो । यो कम्पनीले भारतमा तेल भर्नुमा नेपालमा भन्दा सस्तो पनि प्रमुख कारण हो । हवाई इन्धन नेपालमा भन्दा भारतमा प्रतिलिटर १० रुपैयाँ सस्तो छ ।
प्रतिक्रिया