शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान, १ बजेम्ममा ४० प्रतिशत मत खस्यो
काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । निर्वाचन अघि उम्मेदवारमाथि भएका आक्रमणका कारण निर्वाचन सहज हुने जनविश्वास थिएन । तर, अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने ति सबै त्रास हटाउँदै मतदाताहरु उत्साहपूर्वक चुनावमा जुटेको देखिन्छ । निर्वाचन आयोगका अनुसार बिहान १ बजेसम्ममा ४० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, हिमाली भेगका केही स्थानमा चिसोका कारण केही ढिला मतदान सुरु भए पनि अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ । बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहिलो चरणमा आइतबार प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पााचथर र खोटाङ, प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं। ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नं. ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ । पहिलो चरणको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।
कहाँ–कहाँ बम विस्फाेट खोटाङको साकेला १ च्यानडाँडामा बिहान साढे सात बजेतिर मतदान केन्द्रभन्दा करिब ३० मिटर टाढा बम विष्फोट भयो । त्यसैगरी, रोल्पाको सुकिदह गाउँपालिका ३ हिलेचौरको विरेन्द्र मावि मतदान स्थलभन्दा करिब पाँच सय मिटर टाढा बम विष्फोट भएको छ । रोल्पाकै कोर्चावाङ, थवाङ लगायतका स्थानमा पनि गएरातिदेखि नै बम विष्फोट भएका छन् । मतदातालाई त्रसित बनाउने उद्देश्यले बम पड्काइए पनि निर्वाचन कुनै असर नगरेको र मतदाताहरु मतदानस्थलमा भेला भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणको निर्वाचनमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
रुकुमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर ५ मा रहेको रत्न मावि काँडा मतदान केन्द्रमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका छन्। प्रतिनिधीसभा निर्वाचनको प्रत्यक्ष तर्फको मतपेटिका पुर्ण रुपमा जलेको छ। घटनामा संलग्न तीनजना पक्राउ परेका रुकुमका प्रहरी निरीक्षक ऋषि ढुंगानाले जानकारी दिए। घटनापछि तत्कालका लागि मतदान कार्य स्थगित गरिएको छ।
सिन्धुपाल्चोकको देउरालीमा झडप, प्रहरीद्वारा हवाई फायर सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । निर्वाचन क्षेत्र नं। १ अन्तर्गत पर्ने सुनकोशी गाउँपालिकामा रहेको उक्त केन्द्रमा एजेन्ट बसेका लोकतान्त्रिक गठबन्धनका व्यक्तिहरूले वामपन्थी कार्यकर्तालार्इ आक्रमण गरेपछि झडप भएको थियो । झडपमा तीन जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । अहिले स्थिति सामान्य भइसकेको छ ।
प्रतिक्रिया