वेल्सलाई हराउँदै पोर्चुगल फाइनलमा

ROnaldoकाठमाडौं : डेब्यु टिम वेल्सलाई हराउँदै पोर्चुगल युरोकप २०१६ को फाइनलमा प्रवेश गरेको छ। लियोनमा गएराति सम्पन्न पहिलो सेमिफाइनलमा पोर्चुगलले वेल्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। खेलको पहिलो हाफ बराबरीमा सकिएको भएपनि दोस्रो हाफको ५०औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। उनले कर्नरमा प्राप्त बललाई हेड गर्दै गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै रोनाल्डोको पासमा नानीले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल पोर्चुगलले २–० गोलले जित्दै आफ्नो फाइनल यात्रा सुनिश्चत गर्‍यो। पोर्चुगल युरोकपको फाइनलमा प्रवेश गरेको यो दोस्रो पटक हो। यसअघि पोर्चुगल आफ्नो घरेलु मैदानमा भएको युरोकप २००४ को फाइनलमा प्रवेश गरेको थियो। जहाँ ऊ फाइनलमा ग्रिससँग १–० गोलले पराजित भएको थियो। पोर्चुगलले अब आइतबार राति पेरिसमा हुने फाइनलमा आयोजक फ्रान्स र जर्मनीबीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित