मेस्सी पेनाल्टिमा चुक्दा चिलीलाई उपाधि
काठमाडौं : अर्जेन्टिनालाई फेरि टाइब्रेकरमा पराजित गर्दै चिलीले कोपा अमेरिकाको उपाधि हात पारेको छ । सोमबार विहान भएको फाइनल खेलको निर्धारित ९० मिनेटमा र थपिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा लगिएको थियो । १०÷१० जना खेलाडिमा सिमित उक्त खेलमा गोलको अवसर पाए पनि कुनै टिमले गोल गर्न सकेनन् । पेनाल्टिमा ४–२ को जित हात पार्दै चिलीले समूह चरणको पहिलो खेलमा व्यहोरेको हारको मिठो बदला लियो । अर्जेन्टिनाका गोलकिपरले चिलीका भिडालको प्रहार रोके लगतै अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको पेनाल्टी आकासिएको थियो । चौथो पेनाल्टीमा चिलीका गोलकिपर ब्राभोले बिगलिआको प्रहार रोके भने उसका सिल्भाले गोल गर्दै ४–२ को जित दिलाए । यसअघि निर्धारित समयको खेलको चिली २८ औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । उसका मार्सेलो डियाजले रोतो कार्ड पाए । तर, पहिलो हाफको अन्त्यतिर अर्जेन्टिना पनि १० खेलाडीमा सिमित हुनपुग्यो । उसका रोजोले रातो कार्ड पाएका थिए । अर्जेन्टिनाले नै सन् १९४६ र १९४७ मा लगातार उपाधि जितेर बनाएको रेकर्डसँग बराबरी चिलीले पनि लगातार दुई पटक उपाधि जितेर बराबर गरेको छ । यसअघि समूह डि अन्तर्गतको खेलमा अर्जेन्टिनाले चीलीलाई हराउँदै विजयी सुरुवात गरेको थियो । स्टार खेलाडी लियोनल मेस्सी बिना ओर्लेको अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन चीलीलाई २–१ ले हराएको थियो । अर्जेन्टिनालाई विजयी गराउन एन्जल डि मारीया र इभर बानेगाले एक–एक गोल गरेका थिए । ९०औं मिनेटमा होसे फुएनजालिदाले गोल गर्दै चिलीको हारको फरक २–१मा पारेका थिए।
प्रतिक्रिया