बेलायती प्रधानमन्त्रीले राजिनामा दिने
काठमाडौं : जनमत संग्रह मार्फत बेलायत यूरोपेली युनियनबाट छुट्टिने निश्चित भएपछि बेलायती प्रधानमन्त्री डेविड क्यामरन राजीनामा दिने घोषणा गरेका छन्। यूरोपेली युनियनबाट बेलायत छुट्टिनु पर्ने जनमत संग्रहको फैसला आएपछि क्यामरुनले राजिनामा दिने बताएका हुन् । उनले भनेका छन्–‘बेलायतमा अब नयाँ प्रधानमन्त्री आवश्यक भएको छ।’ क्यामरनले अक्टोबरमा पद छाड्ने घोषणा गरेका हुन् । उनी २०१० देखि प्रधानमन्त्री थिए र २०१५ मा दोस्रो कार्यकालका लागि चुनिएका थिए ।क्यामरनले नै २०१५ को आम चुनावका क्रममा आफू प्रधानमन्त्री भए जनमत संग्रह गर्ने घोषणा गरेका थिए । जनमत संग्रहको औपचारिक परिणाम घोषणापछि क्यामरनले परिणामलाई स्वीकार गर्ने बताए । उनले प्रधानमन्त्रीका रुपमा ६ वर्ष देशको सेवा गर्न पाएको गर्व रहेको बताए । उनी बेलायत इयूबाट बाहिरिनु हुँदैन भन्ने पक्षमा थिए। यूरोपेली युनियनमा रहने वा नरहने भन्ने विषयमा भएको जनमत संग्रहको नतिजामा ५२ प्रतिशत मतदाताले संघबाट बाहिरिनु पर्नेमा मतदान गरेका थिए। युनियनमै रहनु पर्नेमा ४८ प्रतिशतले मतदान गरेका थिए। सन् १९७५ मा भएको जनमत संग्रहमा ६७ प्रतिशतभन्दा बढी बेलायतीहरुले बेलायत इयूको सदस्य रहिरहनु पर्छ भन्ने पक्षमा मतदान गरेका थिए। नतिजासँगै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई राजीनामा दिन दबाव बढेको थियो । बीस वर्षदेखि बेलायत ईयूबाट निस्कनुपर्ने पक्षमा वकालत गर्दै आएका यूकिप पार्टीका नेता नाइजेल फराजले यसलाई स्वतन्त्रता दिवसका रुपमा चित्रित गरेका छन् । उनले प्रधानमन्त्री डेभिड क्यामरुनको राजीनामा समेत मागेका हुन् । बेलायतले युरोपियन युनियनको सदस्यता छोड्नु हुँदैन भन्ने अभियानको नेतृत्व बेलायती प्रधानमन्त्री डेविड क्यामरन र विपक्षी दल लेबरका नेता जेरेमी कोर्बिनले गरेका थिए। बेलायत इयुबाट बाहिरिनुपर्छ भन्ने पक्षमा यूके इन्डिपेन्डेन्ट पार्टीका नाइजल फराज र सत्तारुढ दल कन्जरभेटिभबाट लन्डनका पूर्व मेयर बोरिस जोन्सनले गरिहेका थिए। बेलायत युरोपको सदस्य रहिरहनु पर्छ भन्ने पक्षधरहरुले सुधारसहितको इयुमा जोड दिएका थिए। उनीहरुले बेलायत युरोपियन युनियनको सदस्य रहिरहँदा युरोपमा अन्य देशबाट बेलायतमा काम गर्न आउने आप्रवासीहरुले तिरेको करले देशको आर्थिक अवस्था बलियो हुने, इयुसँगको सम्बन्धले विश्व व्यापारमा ठूलो फाइदा पुग्ने, इयुको एकताले विश्वव्यापी आतंकवादविरुद्धमा लड्न सकिने तर्क मतदाताहरु समक्ष राखेका थिए। यता बेलायत युरोपियन यूनियनको सदस्य रहिरहनु हुन्न भन्ने पक्षले बेलायतले युरोपका अन्य देशलाई खुला सीमानाले गर्दा देशको आन्तरिक सुरक्षा खल्बलिएको भन्दै सीमा नियन्त्रणमा जोड दिएका थिए। उनीहरुले वर्षेनी युरोपेली देशहरुबाट बेलायत आउने आप्रवासीहरुका कारण बेलायतको आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो असर परेको, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा आप्रवासीहरुले कब्जा गर्दा जनजीवनमा प्रत्यक्ष असर परेको तर्क गर्दै बेलायत युरोपियन युनियनबाट बाहिरिनु पर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया