प्रधानमन्त्री ओलीका हप्ता दिन : सरकार नभइ संगठनकै काममा व्यस्त

आकांक्षा धामी
काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरु धेरैजसो दौडधुपमै विते । बितेको एक हप्तामा प्रधानमन्त्री ओली उद्घाटन, भाषण र एक अर्कालाई व्यङ्य गर्नैमै विताएका छन् । हप्ताको पहिलो दिन आइतबार १४ गते ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागि भए । उक्त कार्यक्रममा ओलीले एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् भन्दै एमालेको तारिफ गर्न भ्याए । उनले पार्टी प्रवेश गर्नेहरुलाई स्वागतसँगै पार्टीमा आउने छनोट सही भएको बताए ।

‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईँहरुको एमालेमा आउने छनोट सही छ । तपाईँहरु नमुना हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ । युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ ।’

ओली सोही दिन नै पर्सा पुगे । जहाँ उनले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक छ भन्दै खरो भाषण दिएर फर्किए । ‘हामी क्रान्तिकारी हौं । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुश गर्नु होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ । मधेसका मसिया भन्ने पार्टीका नेताहरुले विकास निर्माणमा नभइ संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौँ । मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्व दिएका छौँ । यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस् ।’, प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइसकेको छ  । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।’

यसरी आफू र आफ्नो पार्टीको धाक लगाउन कहिले नछोड्ने प्रधानमन्त्री केपी नै  हुन् भन्दा पनि फरक पर्दैन होला । उसो त अरु नेताहरु पनि कमका छैनन् । जस्तोसुकै काम गरे पनि पार्टी सबैभन्दा राम्रो आफ्नै हो भन्ने धारणा सबैमा हुनु स्वभाविक जस्तै बनेको छ ।

ओलीे पुस १५ गते लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता कार्यक्रममा सहभागि भए । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुुई देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरे । 

ओलीे पुस १९ गते जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा सहभागी भए । जहाँ उनले महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औंचित्य स्थापित भएको बताए ।
‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ’, प्रधानमन्त्री ओलीले भने ।
सोही दिन ओलीले पूर्वराष्ट्रपति विद्यादेवी  भण्डारीसँग भेटवार्ता गरे । उनले करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले) को पछिल्लो  राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल गरे ।
यसैगरी पुस २१ गते ओलीले एमाले केन्द्रीय समिति बैठक डाके । जहाँ ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरे ।

उक्त बैठकमै ओलीले देशभक्त र प्रगतिशील मजबुद भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन् भन्दै दरो कटाक्ष दिए । जसमा उनले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गरे । उनले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भइ झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरे । 

‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । हाम्रा सबै सङ्गठनहरु उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ ।’, अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ।’

यसैगरी पुस २३ गते ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावाबीच भलिबल खेलमा पदक विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । यसैगरी पुस २४ गते ओलीले प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाल निर्माण उद्योग परिषद्का कर्मचारीहरुसँग भेटवार्ता गरे । 

यसैगरी पुस २५ गते ओली अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न पुगे । जहाँ उनले एमालेमा बार्गेनिङ चल्दैन भन्दै भाषण दिएर आफ्नो बाटो लागे । 
‘हामी आफ्नो पार्टी विस्तार गर्छौ । कोही आउँछ भने मिल्न आउँदा हुन्छ । मर्ज गर्न आए हुन्छ । तर एकताका नाममा बार्गेनिङ चल्दैन् । नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा अलिकति मान भनेर नीतिमा बाँडफाँड गर्ने र सङ्गठनमा योग्यता नभएका मान्छे म स्थायी कमिटी सदस्यमा आउँछु भनेर वार्गेनिङ गर्न मिल्दैन । उहीसँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बार्गेनिङ गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ।’

यसैगरी पुस २६ गते ओली नेपाल हस्तकला महासङ्घको ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा पुगे । उनले उक्त कार्यक्रममा हस्तकला क्षेत्र सरकारको सँधंै प्राथमिकतामा रहने भन्दै आश्वासन दिए ।
 

प्रतिक्रिया

सम्बन्धित