कसैलाई व्यक्तिगत कुराले सताएको हुन सक्छ

basanta gharti magarनेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी छाडेर पार्टी एकीकरणको अभियानमा सक्रिय भएपछि बसन्त घर्ती मगरलाई विभिन्न आरोपहरू लागे । विशेष गरेर ‘विप्लव’ माओवादीले अलि धेरै चर्का आरोप लगाए । तर, ती सबै आरोपको घर्तीले अस्वीकार गर्नुभएको छ । उहाँले आफू जनयुद्धदेखि माओवादीमा लागेर संघर्ष गरेर यहाँसम्म आएको नेताको हैसियतले राजनीतिक आन्दोलनका क्रममा लाग्ने आरोप र आक्षेपहरूलाई व्यक्ति सुध्रिने मौकाका रुपमा लिने गर्नु भएको छ । रोल्पा जिल्ला जन्मथलो भएपनि पाल्पामा जनयुद्धका बेला माओवादी आन्दोलनमा सक्रिय रहनुभएका घर्तीले नै ‘विप्लव’ माआवादीका नेताहरूलाई तत्कालीन एकीकृत माओवादीका शीर्ष नेताहरूसँग सम्पर्क गराई पार्टी एकतामा ठूलो भूमिका खेल्नुभएको थियो । ‘विप्लव’ माओवादीले पार्टी विभाजन गरेको भन्दै घर्तीलाई नै तारो देख्ने गरेको छ । आगामी दिनमा नेकपा माओवादी केन्द्र सांगठनिक रुपमा सक्रिय रहने बताउनुभएका घर्तीले विगतमा जे जस्ता कमी कमजोरी भए त्यसलाई सच्याएर मुल माओवादीलाई मुलुककै ठूलो पार्टी बनाउन योगदान पु-याउने बताउनु हुन्छ । यसै विषयमा केन्द्रीय सदस्य बसन्त घर्ती मगरसँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानी :

० ‘बिप्लव’ माओवादी किन फुटाउनु भएको हो ? – पार्टी फुटाएको होइन । मैले राजीनामा दिएको हुँ । म जस्तै अरु साथीहरूले पनि ‘विप्लव’ माओवादी राजीनामा दिएर छाड्नु भएको हो । त्यसपछि सिद्धान्त र मन मिल्नेहरूले नेकपा माओवादी (विद्रोह) गठन गरेर पार्टी एकीकरण गरिएको हो । तपाईले भने जस्तो ‘विप्लव’ माओवादीलाई हामीले फुटाएको पटक्कै होइन । टिमलाई लैजाने तयारी थियो । तर, पार्टीले एकता नगर्ने भनेपछि हामी बिचार मिल्नेसँग मिलेर नयाँ पार्टी बनाएका हौं ।

० पार्टी एकताको विषयमा ‘विप्लव’सँग कुरा भएन ? – पार्टीले नै तत्काल एकता प्रक्रिया आवश्यक छैन भनेर निर्णय गरेपछि ‘विप्लव’ सँग कुरा गर्ने कुनै आवश्यकता ठानेनौं । उहाँ छुट्नु भयो । वैचारिक ढङ्गले तिलक परियारको नेतृत्वमा नेकपा माओवादी (विद्रोही) गठन ग¥यौं । त्यसपछि एकीकृत माओवादीसहितका विभिन्न माओवादी पार्टीहरू एक भएर पार्टी एकीकरण भइ नेकपा माओवादी केन्द्र बनाइएको हो । यो नयाँ पार्टीलाई अगाडि बढाउने हामी सबैमा दायित्व थपिएको छ ।

० पार्टी छाड्दा ‘विप्लव’ माओवादीले तपाईहरूलाई कुनै आरोप लगाएनन् ? – लगाउनु भयो नि । उहाँले हामीलाई सुधारवादी धार भन्नुभएको छ । क्रान्तिबाट भागेको भन्नुभयो । तपाई आफै भन्नुस् मुलुकमा सुधार चाहने र माओवादी पार्टीको उद्देश्यलाई पूरा गर्न छरिएर रहेका सबै माओवादी पार्टी एक हुनुलाई क्रान्तिबाट भागेको भन्न मिल्छ ? यो त उहाँहरूको बुझाइ नै गलत हो कि जस्तो लाग्छ । यतातिर धेरै प्रवेश नगरौं । छाडेको पार्टीको कुरा गर्नु उपयुक्त हुँदैन ।

० तपाईहरू त एकीकृत माओवादीमा बिलय हुनु भएको आरोप छ नि ? त्यही भएर पार्टीमा असजिलो भएको छ रे ? – बिलय भएको होइन । पार्टी प्रवेश पनि होइन । यो त सबै माओवादीहरू मिलेर नयाँ पार्टी बनाएका हौँ । नेकपा माओवादी केन्द्रमा हामी सबै आबद्ध भएका हौं । हाम्रो अध्यक्ष ‘प्रचण्ड’ हुनुहुन्छ । हाम्रो पार्टी अस्तित्वसहित पार्टी एकीकरण भएकोले पार्टीमा असजिलो महशुस भएको छैन । बरु काम गर्न झन सजिलो महशुस भएको छ । बिरोधीहरूले जे पनि भन्छन् । केही तत्व माओवादी एकीकृत भएको देख्न चाहँदैनन् ।

० माओवादी केन्द्रका केही नेता तपाईहरूसँग असन्तुष्ट छन् भनिन्छ नि ? – हामी गइसकेपछि सबैमा हार्दिकता छ । पुराना नेताहरू फेरि एक ठाउँमा आएका छौं । पार्टीमा सौहार्दपूर्ण वातावरण छ । त्यस्तो अवस्था मैले पाएको छैन । कसैले पनि मसँग जिकिर गर्नुभएको छैन ।

० तपाईले जे भने पनि नारायणकाजी श्रेष्ठ समूह सन्तुष्ट छैन भनेर सबैले भन्छन् ? – त्यो तपाईको बुझाइ होला । तर, हामी पार्टीमा एकीकरणपछि सधै भेट हुने गरेको छ । बैठकहरू भइरहेका छन् । सबै सौहार्दपूर्ण छ । तपाईहरूले कसरी यस्तो कुरा भन्नुभयो ? उहाँहरू मात्रै होइन पार्टीमा कसैसँग तिक्तता छैन ।

० तपाईहरूको पार्टीमा केन्द्रीय सदस्य धेरै भए नि ? – सिनियर नेता र अरु माओवादी पार्टीको केन्द्रीय नेताहरूलाई ल्याउँदा प्राविधिक रुपमा पार्टी ठूलो भएको हो । महाधिवेशन भएपछि पार्टीले सानो आकार लिन्छ । एकताको सन्देश दिनका लागि पनि पार्टी ठूलो भएको हो । यसलाई अन्यथा लिनु हुँदैन । पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरोबाट आकार अलि सानो हुन्छ ।

० अझै पनि केन्द्रीय सदस्य थपिदै छ रे हो ? – केही सिनियर र पूर्व जनमुक्ति सेनाहरू छुट्नु भएको छ । उहाँहरूलाई समेट्ने कुरा भएको छ । सायद अध्यक्ष ज्यूले केन्द्रीय समिति विस्तार गर्नु हुनेछ । कार्यदलको सुझाव पनि त्यही छ ।

० तपाईहरू बैठक बस्दा अब आमसभा गरे जस्तो हुने भो है ? – त्यसरी नबुझौं । पार्टी एकता भएको छ । जनयुद्धमा सँगै रहेका साथीहरू फेरि ‘प्रचण्ड’को नेतृत्वमा एकीकृत भएका छौं । यसलाई अन्यथा रुपमा कसैले लिनु हुँदैन । बरु हाम्रा उद्देश्यलाई कसरी अगाडि बढाउने त्यतातिर लाग्नु उपयुक्त हुन्छ ।

० मोहन बैद्य र नेत्रविक्रम चन्दसँग पार्टी एकता गर्न दिनु हुन्न होला है अब तपाईहरूले ? – उहाँहरूसँग पनि पार्टी एकताका लागि पहल हुनेछ । त्यहाँ पनि धेरै इमान्दार साथीहरू हुनुहुन्छ । उहाँहरूलाई पनि नेकपा माओवादी केन्द्रको छातामुनि ल्याएर नयाँ ढङ्गले क्रान्ति गर्नुपर्छ । त्यसका लागि सबैलाई म आह्वान गर्छु । अहिले पार्टी एकीकरण सम्भव नभए पनि कुनै समयमा पक्कै ती दुई माओवादी पार्टीसँग एकीकरण हुन्छ । हाम्रो सहयोग रहन्छ ।

० तपाईहरूका कराण माओवादी केन्द्रका नेताहरूले धमाधम राजीनामा दिँदै छन् रे ? – खै मलाई त त्यस्तो थाहा छैन । पार्टी र संगठन राम्रो र सुदृढ बनाएर छरिएर रहेका माओवादी पार्टीलाई एक ठाउँमा ल्याउँदा को असन्तुष्ट होला र ? हो कसैलाई व्यक्तिगत कुराले सताएको हुन सक्छ । तर, माओवादी आन्दोलनलाई एकीकृत गर्नु सबैभन्दा ठूलो विषय हो । कार्यसमिति ठूलो भएकोमा केही साथीहरू असन्तुष्ट हुनुहुन्छ । अब छिट्टै महाधिवेशन आउँदैछ, त्यसबाट पार्टीले आफ्नो अकार पाइहाल्छ नि । महाविधेशनसम्म कुरौ न । त्यतिसम्म धैर्यता गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित