जितेर पनि उपाधि पाएन रियलले
काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडले आफ्नो अन्तिम खेलमा डिप्रोटिभो डी ला कोरूनालाई हराएको छ । रियलले जितेपनि उपाधि भने उचाल्न पाएन । स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले दुई गोलको मद्दतमा डिप्रोटिभोलाई २–० ले हराएपनि रियल मड्रिडले उपाधि भने जित्न सकेन। ला लिगाको उपाधि शनिबारै भएको खेलमा स्वारेजको ह्याट्रिकले ग्रनाडालाई ३–० ले हराउँदै बार्सिलोनाले जित्यो। बार्सिलोना पराजित या बराबरी भएको भए उपाधि रियलको पोल्टामा जाने थियो। पोर्चुगिज स्ट्राइकर रोनाल्डोले सातौं र २५ औं मिनेटमा गोल गरे। पछिल्ला १२ खेलमा लगातार जित निकाले पनि रियल मड्रिडलाई ला लिगाका उपाधिका लागि पर्याप्त भएन। बार्सिलोनाले रियललाई एक अंकले पछि पार्दै उपाधि उचालेको हो। लिगका सबै खेल सकिँदा च्याम्पियन बनेको बार्सिलोनाको ९१ तथा उपविजेतामा सीमित भएको रियल मड्रिडको ९० अंक भयो। रियल मड्रिडले सन् २०११/१२ को सिजनपछि ला लिगाको उपाधि जित्न सकेको छैन ।
प्रतिक्रिया