सुरुङभित्रको किड्नी सेन्टरमाथि छानविन

पोखरा । न्यूरोडको केश विद्या कम्प्लेक्सको ग्यारेज प्रयोजनको लागि बनाइएको अण्डर ग्राउण्डमा खोलिएको सिटि किड्नी सेन्टर (स्वास्थ्य क्लिनिक) लाई जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले सञ्चालन स्वीकृति प्रदान गरेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले छानविन अगाडि बढाएको छ ।

 दर्ता नै नगरिकन किड्नी सेन्टर (क्लिनिक) चलाएको बारे काठमाडौंकबाट प्रकाशित हुने यूनाइटेड पोष्ट र पोखराकै सराङकोट साप्ताहिकले समाचार प्रकाशन गरेपछि कास्की प्रसाशनको निर्देशनमा क्लिनिक छानविन गरि असोज ९ गते क्लिनिक सिल गरेको थियो । क्लिनिक सिल गरिएपछि सिटी किड्नी सेन्टरका सञ्चालक, पोखराका विभिन्न अस्पतालमा कार्यरत झण्डै एक दर्जन सर्जनहरुको दवावमा सिटी किड्नी सेन्टरलाई त्यहि सुरुङ जस्तै अंधेरो ग्यारोजमा सञ्चालन गर्न अनुमती दिइएको थियो । गत असोज २९ गते जिल्ला जनस्वास्थय कार्यालय कास्कीले स्वीकृति दिइएको उक्त क्लिनिकको भौतिक संरचना एकदम त्रृटिपूर्ण रहेको भन्दै सेवाग्राहीहरुको गुनासो आएको छ । अधेरो कोठा, अक्सिजनको अभाव रहेको कोठामा अहेवको भरमा किड्नीको पत्थरी निकाल्ने सम्वन्धि उपचार गरिन्छ ।

  जनस्वास्थ्य कार्यालयले स्वीकृति दिदाँ स्वास्थ्य संस्था स्थापना तथा मापदण्ड सम्वन्धि निर्देशिका २०७० बमोजिम जिल्ला स्तरीय समितिको निर्णयलाई हवाला दिएको छ । जवकी निर्देशिकामा स्वास्थ्य क्लिनिक सञ्चालन गर्न भौतिक पूर्वाधार निर्धारण गरेको छ । क्लिनिक सञ्चालन गर्दा पुरा गर्नु पर्ने न्यूनतम पूर्वाधारलाई ठाडै लत्याएर अण्डर ग्राउण्डमा रहेको सुरुङ जस्तो अंधेरो कोठामा किड्नी क्लिनीक सञ्चालन गर्न अनुमती दिइएको विषय रहस्यमय रहेको छ । मानव किड्नीमा रहेको पत्थर मेसिन द्धारा फुटाएर पिसाव नली हुँदै बाहिर निकाल्ने काम चानचुने होइन । यति जटिल र संवेदनशिल उपचार गर्ने ठाउँलाई राज्यको निकायमा दर्ता नै नगरी सामान्य पसल थापे झै गर्ने सिटी किड्नी सेन्टरका सञ्चालकहरुलाई जनस्वास्थ्य कार्यालयले ५० हजार जरिवाना तिराएर सबै खतवात् माफ मात्र गरेनन् कि त्यही सुरुङ भित्रको अंधेरो कोठामा मान्छेको किड्नी भित्रको ढुंगा फुटाउने इजाजत प्रदान गरेका छन् ।

 पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य सिटी किड्नी सेन्टरका हर्ताकर्ता सञ्चालक रहेका छन् । क्षेत्रीय अस्पताल पोखरामा कार्यरत डाक्टरहरु डा. अमर गुरुङ, डा. अनुप चापागाई, डा. सन्तोष श्रेष्ठ, डा. देवेन्द्र श्रेष्ठ, राजनकुमार शर्मा, डा. सुरेशराज पौडेल समेतले सिटि किड्नी सेन्टरमा लगानी गरेका छन् । यस्तै सरकारी अस्पतालमा कार्यरत सर्जन डाक्टर सहित मणिपाल शिक्षण अस्पतालका डाक्टर प्रकाश शर्मा समेतको लगानी रहेको खुलेको छ ।

 तिनै डाक्टहरुको दबाबमा क्लिनिकले सुरुङभित्र सञ्चालनको अनुमति पाएको थियो ।  जनस्वास्थ्य जस्तो गंभिर चासोको विषयमा राज्यको निकायले दबाब र प्रभावमा परेर स्वीकृति दिन थालेपछि स्वास्थ्य सम्बन्धि व्यवसायको संवेदनशिलतालाई मध्यनजर गर्दै राज्यले कडा छानविन गर्नु पर्छ । प्रशासनले थालेको छानविनमा फेरि सर्जन डाक्टरहरुको दवावले प्रभाव पारेन भने त्यस्तै अवैध क्लिनीक बन्द हुन्छ कि ?

प्रतिक्रिया

सम्बन्धित