इक्यानमा अस्वस्थ प्रतिस्पर्धा हुनु हुँदैन

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को चुनाव नजिकिंदै गर्दा प्राइम एजुकेशन इन्फरमेशन सेन्टरका प्रवन्ध निर्देशक तथा इक्यानका पूर्व कार्यवहाक अध्यक्ष दिपक गुरुङ भने व्यवसायिहरुको हक हित तथा उनीहरुको लगानीको सुरक्षाका लागि लड्न सक्ने नयाँ नेतृत्वको खाँचो रहेको बताउनु हुन्छ । नेपाल बंसिङ संघका महासचिव समेत रहनु भएका गुरुङ कन्सलटेन्सीमा अस्वस्थ प्रतिस्पर्धा हुँदा यो क्षेत्र नै धराशयी बन्ने खतरा रहेको औंल्याउनुहुन्छ । गुरुङ एकातिर बक्सिङ खेलको स्तर उकास्न पनि क्रियाशिल हुनुहुन्छ भने अर्कोतिर नजिकिएको इक्यानको चुनावमा छरिएर रहेका व्यवसायिलाई थप मर्यादित बनाउने, व्यवस्थित बनाउने तथा विकृती र विसंगतिको पनि अन्त्य हुनु पर्ने एजेण्डा बोकेका व्यवसायिहरुको पक्षमा हुनुहुन्छ । इक्यानको चुनाव, टिआइटिआइले प्रदान गरेको तालिम, कन्सलटेन्सी व्यवसायका समस्या र चुनौतीलगायतका विषयमा mynewsnepal.com का लागि कुमार भण्डारीले गुरुङसँग गरेको कुराकानी :

deepak gurung 1

दिपक गुरुङ, प्रवन्ध निर्देशक– प्राइम एजुकेशन इन्फरमेशन सेन्टर तथा महासचिव– नेपाल बंसिङ संघ

० इक्यानको चुनाव नजिकिंदै छ, पहिले र अहिलेको इक्यानमा कत्तिको फरक पाउनुहुन्छ ? – अहिलेको इक्यानको चुनावको माहौल हेर्ने हो भने पहिलेको व्यवसाय र अहिलेको व्यवसायमा धेरै भिन्नता छ । भिन्नता हुनुका धेरै कारणहरु छन् । ति मध्ये यो व्यवसाय एउट उद्योगको रुपमा विकसित हुँदै जानु, राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरसम्म यसको पहुँच पुग्नु मुख्य कारण हो । त्यसैले पनि अहिलेको नयाँ नेतृत्वमा सबैको चासो रहेको छ । अहिले प्यानलहरु खडा भएर चुनाव लड्ने तयारी भैरहेको मैले सुनेको छु । तर, मेरो धारणा चाहिं सकेसम्म सर्वसम्मत नै होस् भन्ने चाहना हो । र, त्यसका लागि मैले पहल पनि गरि नै रहेको छु । जे जस्तो भए पनि जसले व्यवसायिको हक हितका लागि काम गर्न सक्छ, त्यही व्यक्ति नै नेतृत्वमा आउनुपर्छ भन्ने मेरो मान्यता हो ।

० जो नेतृत्व लिन चाहनु हुन्छ उहाँहरु आक्रमक रुपमा प्रस्तुत भइरहेको अवस्थामा के सहमति संभव छ र ? – मलगायत सल्लाहकार अर्जुन जी, वर्तमान अध्यक्ष राजन्द्र बराल जी, राजु डल्लाकोटी जी, द्धीराज शर्मा बसेर हामीले एक पटक सहमतिका लागि पहल गर्ने प्रयास गरिरहेका छौं । हेरौं, त्यो प्रयास कहाँसम्म सफल हुन्छ । हामीलाई पूर्व अध्यक्ष, सल्लाहकार तथा एउटा अभिभावक मान्ने हो भने सर्वसम्मत नै हुन्छ । होइन मुखले अभिभावक भन्ने तर व्यवहारले अर्कै गर्ने हो भने चुनावी प्रक्रियामा जान्छ । हामीले गर्ने भनेको कामको मूल्यांकनलाई हेरर यो व्यक्तिलाई अहिले नेतृत्व दिंदा ठिक हुन्छ भन्ने नै हो । इक्यानमा जुनसुकै राजनीतिक विचारधारा बोकेका व्यक्ति आएपनि व्यवसायिको हक हित, सुरक्षा र सम्वद्र्धनका लागि काम गर्ने व्यक्ति नै नेतृत्वमा आउनु पर्छ ।

० इक्यानमा अहिले कस्ता व्ययसायिले नेतृत्व हत्याउन खोजिरहेका छन् ? – म अध्यक्ष हुँदा भन्दा अहिले इक्यान धेरै नै ठूलो संस्था भइसकेको छ । सदस्य संस्थाहरु पनि निकै थपिएका छन् । कुनै पनि व्यक्तिले कुने पार्टीप्रति आस्था राख्नु उसको अधिकार हो । तर, म के भन्छु भने इक्यान भनेको एउटा विशुद्ध व्यवसायिहरुको संस्था भएकाले यहाँ भित्र चाहिं राजनीति नगरौं । बाध्यता र परिस्थितिका कारण पनि अहिले राजनीतिकरण हुँदै गएको मैले पाएको छु । अहिले मैले यो व्यवसायमा चार प्रकारका व्यक्तिहरु पाएको छु । कोही व्यवसायिहरु मेरो पेशा यहि हो, यसैलाई राम्रो बनाउनुपर्छ र विश्व बजारसम्म पु¥याउनु पर्छ भनेर लागिरहनु भएको छ भने कोही इक्यानको नेतृत्व लिन र राजनीतिक ‘प्लेटफर्म’ बनाउन नै यो व्यवसायमा लागेको पनि पाएको छु । अर्कोथरी व्यक्ति इक्यानमा पुगें भने फटाई गर्न अझै सहज हुन्छ भन्ने पनि मैले देखेको छु र बाँकी भनेको यदि म इक्यानको सदस्य भए भने मैले व्यवसायलाई अझै व्यवस्थित र मर्यादित बनाउन सक्छु भन्ने सदस्यहरु पनि मैले देखेको छु ।

० अहिलेसम्म नेतृत्व लिनका लागि दुईवटा प्यानल देखिएका छन्, तिनमा पनि यस्ता प्रवृत्तिका व्यक्ति छन् कि ? – दुवै प्यानलबाट अध्यक्ष बाहेकका उम्मेदवारको टुंगो लागिसकेको छैन । र पनि अप्रत्यक्ष रुपमा देखिए अनुसार कोहि त्यस्ता अनुहार पनि समेटिका हुन सक्छन् । तर, राम्रो काम गर्नेको संख्यामा पनि कमी छैन ।

० तपाईहरुले चाहिं कस्तो एजेण्डा बोकेको नेतृत्वलाई स्वीकार्नुहुन्छ ? – व्यवसायिहरुको हक हितका लागि काम गर्नु सक्नु प-यो, परेको ठाउँमा बोल्न सक्नु प-यो, कन्सलटेन्सी क्षेत्रलाई सरकार देखि एम्बेसीहरुले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न सक्नुप¥यो । तर, इक्यानलाई भातृ संस्था बनाउन खोज्ने र व्यक्तिगत स्वार्थका लागि काम गर्न खोज्ने खालको नेतृत्व आउनु भएन ।

० सहमतिकै कुरा गरिरहँदा दिपक गुरुङ नै अध्यक्षमा आउनु पर्छ भन्ने कुरा उठेमा तपाई के गर्नुु हुन्छ ? – सर्वसम्मतले सबै व्यवसायिहरुले मलाई विश्वास गरेर तपाई नै नेतृत्वमा अउनुपर्छ भन्नुभयो भने म सहजै स्वीकार्न तयार छु । तर, कुनै पनि प्यानलबाट चुनाव लडेर नेतृत्व हत्याउने पक्षमा भने म विल्कुलै छैन ।

० इक्यान बाहेक छरिएर रहेका अन्य संस्थाहरुलाई समेटेर इक्यानलाई काउन्सिलको रुपमा विकास गर्ने कुरा पनि उठेको छ नि ? – यो एकदमै राम्रो कुरा हो । हिजोका दिनहरुमा नेका र इक्यान मर्ज भएपनि पुनः फुटेर आइरिन, फेकन बनेको अवस्था छ । व्यवसायिहरुको हक हित हेर्ने हो भने फुटेर जानुपर्ने अवस्था थिएन । मेरो व्यक्तिगत धारणाको कुरा गर्ने हो भने पदको अवसर नपाएर पनि फुटेको हुन सक्छ । उहाँहरुलाई म के अनुरोध गर्छु भने हामी मिल्नुको विकल्प छैन । मिलेर जाऔं र संस्थालाई राम्रो र बलियो बनाऔं ।

dipak

० पछिल्लो समयमा शिक्षा मन्त्रालयसँगको सहकार्यमा शैक्षिक परामर्शदातालाई प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टिआइटिआइ) ले दिइरहेको तालिम कत्तिको प्रभावकारी छ ? – टिआईटिआईको कुरा गर्ने हो भने म त्यसमा असहमति जनाउँछु । उहाँहरुले दिनुभएको तालिममा परामर्शको बारेमा खासै जानकारी दिनु भएको मैले पाइन । पहिलो चरणमा जुन २० वटा संस्थाका परामर्शदाताहरुलाई उहाँहरुले तालिम दिनु भएको छ, त्यसमा कन्सलटेन्सी व्यवसायिलाई जुन कुरा आवश्यकता थियो त्यो दिन सक्नु भएको छैन । तालिममा कस्तो विषयका बारेमा जानकारी दिने भन्ने बारेमा कुनै छलफल नै नगरी विज्ञ विनाका व्यक्तिले तालिम दिएका छन् । विदेशको शिक्षा तथा भिसाको बारेमा विदेशी परामर्शदाता देखि ‘हाई कमिशन’ लाई ल्याएर तालिम दिलाउनु पर्नेमा कसैलाई पनि समेटिएको देखिएन । हो, सबै देशका ‘हाई कमिशन’, दूताबासका विज्ञलाई ल्याएर तालिन दिलाउन नसके पनि विद्यार्थीहरु बढि केन्द्रीत हुने देशका दूताबासमार्फत प्रतिनिधि बोलाएर तालिम दिलाउन सकिन्थ्यो । तर, त्यसो गरेको पाइएन । दोस्रो चरणमा पनि यस्तै प्रवृत्तिको विकास भयो भने यो टिआइटिआईले दिने तालिमको कुनै औचित्य छैन र यसको प्रमाणपत्र भित्तामा झुण्ड्याउनु बाहेक केही हुन सक्दैन ।

० कन्सलटेन्सीहरुमाथि मेनपावरको काम गरेको भन्ने आरोप पनि लाग्दै आएको छ नि ? – कुनै कन्सलटेन्सीहरुले त्यस्तो काम गरेका होलान् । कुनै पनि क्षेत्रमा राम्रोसँगै नराम्रो काम गर्नेहरु पनि हुन्छन् । म स्पष्ट भन्छु– गरेनन् र गर्दैनन् भन्न सकिंदैन । तर, केही कन्सलटेन्सीहरुले नराम्रो काम गरे भनेर सबैमाथि आरोप लगाउनु चाहिं गलत हो । कन्सलटेन्सी व्यवसायलाई मेनपावरको काम गर्ने अधिकार नै हुँदैन । र पनि त्यस्तो काम गर्दा आम विद्यार्थी तथा अभिभावकहरुसम्म यसले नराम्रो असर पुगेको छ । त्यसैले यो कार्यलाई सम्बन्धित निकायले तत्कालै रोक्नु पर्छ ।

० कन्सलटेन्सी क्षेत्रमा देखिएका चुनौतीहरु के–के हुन् ? – यो क्षेत्रको सबैभन्दा ठूलो चुनौती भनेको अस्वस्थ प्रतिस्पर्धा नै हो जस्तो मलाई लाग्छ । कन्सलटेन्सी क्षेत्रका केही व्यवसायीहरुले प्रोफेसनल तरिकाले काम नगर्दा र हुरि बतासको शैलीमा यस क्षेत्रमा प्रवेश गर्ने व्यवसायीहरुका कारण नै यस्ता चुनौति देखिएका हुन् । जुन देशले भिसा प्रक्रिया सजिलो बनाएको छ, त्यहाँको काम गर्ने र भिसा प्रक्रिया गाह्रो भएपछि व्यवसाय नै बन्द गरेर अन्य व्यवसायतिर जाने कारणले गर्दा यो पेशा नै धरापमा पर्दै गएको छ । यसको समाधानको लागि अस्वस्थ प्रतिस्पर्धा हटाउने र सम्बन्धित निकायले पनि स्वीकृति प्रदान गर्ने बेलामा आवश्यक मापदण्ड पूरा गरेको छ या छैन, त्यसलाई हेरेर मात्र स्वीकृति प्रदान गर्ने हो भने यस्ता समस्या केही हदसम्म भए पनि कम हुन्छन् ।

० तपाईद्धारा सञ्चालित प्राइम एजुकेशन इन्फरमेशन सेन्टरले कुन–कुन देशका बारेमा विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएको छ ? – प्राइम एजुकेशन इन्फरमेशन सेन्टरको स्थापना सन् २००३ मा भएको हो । यसले उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्नेदेखि आवश्यक तयारी कक्षाहरु सञ्चालन र डकुमेन्टेसनको काम गर्दै आएको छ । हामीले यूएसए, यूके, अष्ट्रेलिया, न्यूजिल्याण्ड, आयरल्याण्ड र फ्रान्स जान चाहने विद्यार्थीहरुलाई त्यहाँका विश्वविद्यालय तथा कलेजहरुमा पठाउँदै आएका छौं । प्राइमको मुख्य उद्देश्य भनेको उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई उनीहरुको क्षमता र आर्थिक अवस्था अनुसार उनीहरुले खोजेको र रोजेको देशमा पठाउनु नै हो । विद्यार्थीहरुको समस्या समाधानका लागि पनि हामीले काम गर्दै आएका छौं ।

प्रतिक्रिया

सम्बन्धित