इक्यानलाई काउन्सिलको हैसियत दिलाउन प्रयास गर्नेछु

एजुकेशन कन्सलटेन्सीहरुको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी फागुन १५ गते नयाँ नेतृत्वको लागि चुनाव हुने मिति तय भएसँगै दुई समूहबीच भिडन्त हुने भएको छ । नेट्कोटेक टेक्नोलोजी प्रालिका प्रमुख कार्यकारी निर्देशक तथा इक्यानका वर्तमान उपाध्यक्ष सरोजकुमार बस्नेतले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्नु भएको छ । आफूले गर्न खोजेका कामहरु आफ्नो नेतृत्व नहुँदा गर्न नसकिएको र दशौं साधरणसभामार्फत आएका कार्ययोजनाहरु पूरा गर्नका लागि नै इक्यानको नेतृत्व लिन चाहेको बताउनु हुने बस्नेतले साथीहरुको सहयोग र सल्लाहका कारण नै उम्मेदवारी दिनु भएको हो । इक्यानलाई काउन्सिलको हैसियत दिलाउन, राज्यले ल्याउने नीति नियमले व्यवसायलाई पारेको असरहरुको अध्ययन गरी छिटो भन्दा छिटो सम्बन्धित निकायको ध्यानाकर्षण गराउन, अन्तर्राष्ट्रिय स्तरका सूचना केन्द्रहरु नेपालमा ल्याउन, इक्यानमा इलाइब्रेरीको व्यवस्था गर्नलगायतका एजेण्डाहरु बोकेर चुनावी मैदानमा उत्रनु भएका बस्नेतसँग mynewsnepal.com का लागि कुमार भण्डारीले गरेको कुराकानी : 

saroj basnet final सरोजकुमार बस्नेत अध्यक्षका प्रत्यासी एवम् उपाध्यक्ष (इक्यान) तथा प्रमुख कार्यकारी निर्देशक, नेट्कोटेक टेक्नोलोजी प्रा.लि.

० नयाँ नेतृत्वका लागि इक्यानले चुनावी तयारी कस्तो गरिरहेको छ ? – इक्यानमा हरेक दुई वर्षमा नयाँ नेतृत्वका लागि चुनाव हुने गर्दछ । त्यसैका लागि इक्यान कार्यसमितिले आगामी फगुन १५ गतेका लागि चुनावी मिति तय गरेको हो । साधरणसभा यसअघि नै सम्पन्न भइसकेको छ । साधरणसभा र चुनाव सँगै हुनुपर्ने भएपनि विविध कारणले हामीले साधरणसभा लगत्तै चुनाव गर्न सकेनौं । चुनावका लागि इक्यानले भरपुर तयारी गरिरहेको छ ।

० तपाईले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिंदै हुनुहुन्छ, तयारी कस्तो छ ? – वर्तमान कार्यसमितिमा मैले उपाध्यक्षको पदमा रहेर काम गरिसकेको छु । धेरै साथीहरुको सहयोग र सल्लाहमा नै मैले नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । व्यक्तिगत तर्फबाट मैले चुनावी तयारी तिब्र रुपमा गरिरहेको छु ।

० तपाईको उम्मेदवारी के का लागि ? – आफूले गर्न खोजेका जति पनि कामहरु छन्, आफ्नो नेतृत्व नहुँदा ति कामहरु गर्न नसकिएको र दशौं साधरणसभामार्फत आएका कार्ययोजनाहरु पूरा गर्नका लागि नै मैले इक्यानको नेतृत्व लिन चाहेको हुँ ।

० तपाईले सदस्य साथीहरुबाट कत्तिको सहयोग पाउने अपेक्षा गर्नुभएको छ ? – इक्यान भित्रका साथीहरुले हिजो पनि मलाई उपाध्यक्षमा जिताएर पठाउनु भएको हो । र, आज पनि उहाँहरुको सल्लाहमा नै मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ । त्यसैले उहाँहरुले मलाई पूर्ण सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

० तपाईका एजेण्डाहरु के–के हुन् ? – मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गर्दै गर्दा विभिन्न एजेण्डाहरुलाई अगाडि सारेको छु । इक्यानमा रहनु भएका केही साथीहरुबाट व्यक्तिगत इच्छा आकांक्षालाई संस्थागत गर्ने कोशिष भएका छन्, त्यसलाई सच्याउन, इक्यान अहिले डिसअर्डरमा चलिरहेको र चलाउन खोजको अवस्थालाई अर्डरमा ल्याउन, इक्यानलाई काउन्सिलको हैसियत दिलाउन, राज्यले ल्याउने नीति नियमले हाम्रो व्यवसायलाई पारेको असरहरुको अध्ययन गरी छिटो भन्दा छिटो सम्बन्धित निकायको ध्यानाकर्षण गराउन, सम्बन्धित नियकायसँगको समन्वयमा विद्यार्थी तथा अभिभावकहरुलाई विश्वास दिलाउने खालका कामहरु गर्नु मेरो प्राथमिकताका विषयहरु हुन् । अहिले एउटै कन्सलटेन्सीमा आएर धेरै देशको शैक्षिक अवस्थाका बारेमा बुझ्नु पर्ने बाध्यता छ । त्यसलाई न्यून गर्न, जस्तै सम्बन्धित देशको राजदूताबाससँग समन्वय गरी सूचना केन्द्रहरु स्थापनाका लागि पहल गर्न, युकेका लागि ब्रिटिस काउन्सिल भनेजस्तै अष्टे«लिया, न्यूजिल्याण्ड, भारत, अमेरिका, जापान, चीनलगायका देशको पनि सूचना केन्द्रहरु नेपालमा ल्याउनका लागि पहल गर्न, इक्यानमा इलाइब्रेरीको व्यवस्था गर्न, व्यवसायीहरुलाई आधारभूत तालिमको व्यवस्था गर्न, अन्तर्राष्ट्रिय स्तरका वर्कसपहरु जस्तैःवाइबा, ईसाना, नाप्सा, आइसिएफका वर्कसपहरु नेपालमा सञ्चालन गरेर एजेन्ट र विद्यार्थीहरुलाई जानकारी दिलाउन तथा विद्यार्थीहरुबाट लिईंदै आएको एक प्रतिशत शैक्षिक करबाट पनि विद्यार्थीले के–कस्तो सुविधा उपभोग गर्न पाउँछन् त्यसको खोजी गरी विद्यार्थी तथा अभिभावकहरुलाई सहज हुने बाटो खोज्न मैले भरपुर प्रयास गर्नेछु । यि सबै काम गर्नका लागि मैले हिजोका दिनमा पनि कोशिष गरेकै हुँ । तर, विभिन्न कारणले हरेक कुराहरु सम्भव हुन सकेनन् । त्यसैले यि सबै काम गर्नका लागि आफ्नै नेतृत्वको खाँचो महशुस गरेर नै मैले उम्मेदवारी दिएको हुँ

० इक्यानले सोचेअनुरुप काम नै गर्न नसकेको आरोप लाग्दै आएको छ नि ? – इक्यान भनेको राजनीति गर्ने थलो होइन र त्यहाँ राजनीति हुनु हुँदैन भन्ने कुरालाई हामीले स्वीकार्नै पर्छ । तर, कुनै पनि व्यक्ति कुनै राजनीतिक दलप्रति आस्था राख्दछ भने त्यसलाई नै आधार मानेर राजनीति हावी भयो भन्न चाहिं मिल्दैन जस्तो लाग्छ । यो भनेको चुनावी दौडाहामा लागेका बेला एकले अर्कोलाई लगाउने आरोप मात्रै हो । यदि मेरो नेतृत्वमा इक्यान आयो भने त्यहाँ कुनै पनि पार्टीको राजनीति हुनेछैन । इक्यानभित्र १३ वटा विभागहरु रहेका छन् । ति सबैले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको अवस्था छ । इक्यानले कामै गर्न नसकेको भन्ने चाहिं होइन । तर, अझै धेरै गर्न बाँकी भने पक्कै छ । इक्यानले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

० तर, अहिलेको नयाँ नेतृत्वका आकांक्षीहरुमाथि पनि राजनीतिक भागवण्डा गरेको आरोप लागेको छ नि ? – यसमा चाहिं सञ्चारमाध्यमका साथीहरुले नै अलि बढी राजनीति हावी भएको देखाउन खोज्नु भएको हो जस्तो पनि लाग्छ । कुनै व्यक्तिले कुनै पनि पार्टीप्रति आस्था राख्नु गलत हो जस्तो मलाई लाग्दैन । तर, अहिले मेरो समूहमा अर्को समूहमा नअटाएका साथीहरु पनि हुनुहुन्छ । त्यसैले यो पार्टी र ऊ पार्टी भनेर भागवण्डा लगाउनु पर्ला जस्तो लाग्दैन । हुनत मलाई अघिल्लो चुनाव देखि नै विभिन्न आरोप लगाएर केही साथीहरुले पराजित गर्न खोज्नुभएकै हो । तर, मेरो कार्यकालमा इक्यानमा कुनै पनि राजनीतिक पार्टीगत गुट उपगुट हुने छैन ।

० तपाईंले त अहिलेसम्म पनि प्यानल घोषणा गर्नुभएको छैन नि ? – एकपक्षले प्यानलको तयारी गरिसकेको अवस्था छ । त्यहि प्यानलमा नअटेका साथीहरुले मेरो प्यानलबाट उठ्ने निर्णय गर्नुभएको छ । मेरो प्यानलबाट लड्ने साथीहरु व्यवसायिक रुपमा स्थान बनाइसक्नु भएको छ । यो व्यवसायलाई मर्यादित बनाउने कुरामा क्रियाशिल भएर लाग्नु भएका साथीहरु मेरो समूहमा रहनु भएकाले उहाँहरुले मेरो समूहलाई नै जिताउनु हुनेछ भन्ने अपेक्षा राखेको छु । मेरो प्यानल कुनै एउटा राजनीतिक पार्टीको प्यानल हुने छैन ।

० अहिले विद्यार्थी तथा कन्सलटेन्सीलाई आइइएलटिएसको परिक्षा दिनका लागि समय लिन एकदमै गाह्रो छ, यसका लागि इक्यानले पहल गर्न नसकेको हो ? – अहिले व्रिटिस काउन्सिलसँगको समन्वयमा २० देखि २५ प्रतिशतसम्म ‘डेट’ पाइएको अवस्था छ । व्रिटिस काउन्सिलको ‘मोनोपोली’ का कारण यो अवस्था आएको हो । यो समस्यालाई केही हदसम्म भए पनि कम गर्नका लागि अर्को विकल्पको रुपमा इक्यानले आइडिपीमार्फत पनि ‘डेट’ लिनका लागि पहल थालेको छ । यसका लागि वर्तमान केन्द्रीय सदस्य तथा नयाँ नेतृत्वका लागि उपाध्यक्षका प्रत्यासी निरज सिटौला(भुपेन्द्र) को समूह पूर्ण रुपमा लागि रहेकोले यो समस्या अब छिट्टै समाधान हुने मैले देखेको छु । अबको नयाँ नेतृत्वसँगै आइडीपी पनि नेपालमा आउँछ ।

० इक्यानले आफ्नो पहुँच अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउन सकेन पनि भनिन्छ नि ? – इक्यान आफैमा अन्तर्राष्ट्रिय स्तरको संस्था हो । धेरै भन्दा धेरै देशहरुमा इक्यानको पहुँच पुगेको छ । इक्यानले कतिपय अन्तर्राष्ट्रिय स्तरका वर्कसपहरु नेपालमा गरिसकेको छ । त्यसैले पनि इक्यानको पहुँच अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सकेन भन्नु गलत हो ।

० आफ्ना सदस्य संस्थाहरुले इक्यानबाट जे पाउनु पर्ने थियो, त्यो पाएको अवस्था छ ? – व्यवसायीहरुको हक हितका लागि सधैं लडिरहने संस्था हो इक्यान । सदस्य संस्थाहरुलाई हामीले आवश्यक सम्पूर्ण विषयहरु प्रदान गर्ने कोशिष गरिनै रहेका छौं । सदस्य संस्थाहरुको जति माग छन्, ति सबैं चाहिं पु-याउन नसकेको पक्कै हो । यसका विविध कारणहरु रहेका छन् । समयको पावन्दी पनि हामीसँग छ । दुईवर्षको समयमा अघिको ६ महिना र पछिको ६ महिना चुनाव नै लाग्ने हुँदा एक वर्षभित्र सबै काम गर्न गाह्रो भएको हो । हामीले जति पनि काम गर्दै आएका छौं, ति सबै सदस्य संस्थाहरुको हक हितका लागि नै गर्दै आएका छौं । पछिल्लो समयमा इक्यानले सदस्यहरुको विमा गरेको छ भने विभिन्न ओरेन्टेसन कक्षाहरु सञ्चालनका लागि पनि पहल गरेको थियो ।

० यो व्यवसायमा धेरै समस्या र चुनौतिहरु पनि थपिएका छन्, त्यसलाई कम गर्न अबको नयाँ नेतृत्वले के गर्नुपर्ला ? – हामीले राज्यप्रति गर्नुपर्ने दायित्व निर्वाह गरिरहँदा पनि विभिन्न क्षेत्रबाट यसमा समस्या थपिएका छन् । नेपाल सरकारले बुझ्नु पर्ने कुरा के हो भने व्यवसायीहरुले लगानी गरेको अरबौं रुपैयाँको सुरक्षा, बेरोजगारले आक्रान्त बनेको अहिलेको अवस्थामा कन्सलटेन्सीहरुले पु-याएको योगदान, सरकारले लगाएको करका कुरा, पछिल्लो समयमा इक्यानको पहलमा भारत जाँदा पनि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने नयाँ नीति जसले गर्दा सरकारलाई पनि फाइदा पुगेको छ । अबको नयाँ नेतृत्वले यो पेशा व्यवसायीलाई हेर्ने सरकारको दृष्टिकोणमा परिवर्तन गर्न, विद्यार्थीका समस्या तथा व्यवसायमा देखिएका विभिन्न समस्यारुलाई न्यून गर्न पहल गर्नेछ ।

० इक्यानका सदस्यहरुलाई के भन्नुहुन्छ ? – अहिले हामी नयाँ नेतृत्व चयनको संघारमा छौं । यस्तो बेलामा आफ्नो भन्दा पनि राम्रो व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्ने साथीहरुको चाहना रहेको मैले बुझेको छु । राज्यले बनाएको कानुनी दायराभित्र रहेर आफ्नो पेशा व्यवसाय सञ्चालन गरिरहेका हामीजस्ता व्यवसायीहरुको लागानीलाई सुरक्षित राख्न सक्ने, ढुक्कसँग व्यवसाय सञ्चालन गर्ने वातावरणको सिर्जना गर्न सक्ने, व्यवसायी मैत्री वातावरण बनाउन सक्ने नेतृत्वलाई जिताउनु अहिलेको आवश्यकता हो । त्यसैले सम्पूर्ण साथीहरुलाई सोच विचार पु-याएर मात्र मतदान गर्नुहुन अनुरोध गर्दछु ।

० नेट्कोटेक टेक्नोलोजी प्रालिको प्रमुख कार्यकारी निर्देशक हुनुहुन्छ, यो संस्था स्थापनाको मुख्य उद्देश्य के हो ? – सन् १९९७ बाट काम गर्दै आएको तथा २००३ बाट कानुनी मान्यता प्राप्त गरी अगाडि बढिरहेको नेट्कोटेकले आइटी तथा उच्चशिक्षा लिन विदेश जान चाहने विद्यार्थीहरुको लागि काम गर्दै आएको छ । अहिले हामीले विश्व प्रख्यात माइक्रोसफ्ट देखि सिस्कोको पनि प्रोग्रामहरु चलाउँछौं । तर, पछिल्लो समयमा भने समयको मागलाई ध्यानमा राखेर शैक्षिक क्षेत्रमा पनि काम गर्दै आएका छौं । दुइवटै कामलाई हामीले निरन्तरता दिइरहेका छौं । हामीले नेट्कोटेकको स्थापना गर्नुको मुख्य उद्देश्य भनेको आइटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र उच्चशिक्षाका लागि नेपालबाट विदेश जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिनु नै हो ।

प्रतिक्रिया

सम्बन्धित