प्रधानमन्त्री देउवाद्वारा मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाउन निर्देशन
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयद्वारा आयोजित प्रतिनिधिसभा र प्रदेश सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाइ जनतालाई सुरक्षाको प्रत्याभूति दिएर निर्धक्क रूपमा मतदान गर्ने वातावरण बनाउन निर्देशन दिएका हुन ।
प्रम देउवाले भने , - आम मतदातालाई भड्काउने, मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षाको चुनौती बन्नसक्छ, सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रूपमा परिपालना गरेर काम गर्नुस् ।' प्रधानमन्त्री देउवाले लामो संघर्षपछि वर्तमान संविधान आएको चर्चा गर्दै संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेकोमा जोड दिए । गोष्ठीमा गृह सचिव मोहनकृष्ण सापकोटाले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न निर्वाचन अघि, निर्वाचनमा र निर्वाचनपछिका तिनै चरणमा सुरक्षा दिनका लागि सुरक्षा योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न निर्देशन दिए ।
गोष्ठीमा सबै जिल्लाका सुरक्षा अधिकारीले सुरक्षाको अवस्था, चुनौती र समाधानका उपायका बारेमा जानकारी गराएका थिए । सहभागीले प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखले समग्रमा विभिन्न समूह, अवैध हतियार, विस्फोटक पदार्थ र केही स्थानमा बुथ कब्जा मुख्य चुनौती रहेको अवगत गराउँदै चुनौतीलाई समाधान गर्न सुरक्षा रणनीतिको सर्तकता अपनाइएको जानकारी दिएका थिए ।
गोष्ठीमा गृह मन्त्रालयका सचिव सापकोटा, नेपाली सेनाका बलाधिकृतरथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलीप रेग्मी, प्रदेश नं ३ का प्रमुख जिल्ला अधिकारी तथा रक्षा र गृहमन्त्रालयका उच्च अधिकृत सहभागी थिए ।
प्रतिक्रिया