बंगबन्धुमा नेपालको चार गोल सँगै सागरको रोदन
काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा नेपाल पुगेपछि निराशाजनक अवस्थामा पुगेका फुटबल प्रेमीहरु एक पटक फेरी उत्साहित भएका छन् । किनकी, नेपाली फुटबलको इतिहासमै महानगरीय प्रहरी अपराध महाशाखाले म्याच फिक्सिङ जस्तो संगठीत अपराधको पहिलो पटक पर्दाफास गरेपछि सम्पूर्ण फुटबल प्रेमीहरुमा निराशा छाएको थियो । खेल मिलेमतोको लफडापछि नेपाली फुटबलको रंग केही फेरिन थालेको छ ।
नेपालको साख बचाउनकै लागि नयाँ खेलाडीहरुलाई भित्र्याएसँग नेपाली टोलीले बंगबन्धुमा सफलता हात पारेको छ । फिफा बरियतामा खस्कदै गएको नेपाली श्रेणीबाट आजित फुटबल समर्थकलाई बंगबन्धु गोल्डकप प्रदर्शनले केही आशा पलाएको छ । मंगलबार बंगबन्धु राष्ट्रिय रंगशालामा भएको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
नेपाललाई जिताउन मोफसलका नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । अब यतिखेर राज्यलाई फुटबलमा लगानी गर्न र म्याच फिक्सिङ जस्तो विकृति हटाउन चुनौती पनि थपिएको छ । नेपालले बंगबन्धु कपमा सनसनीपूर्ण फुटबल खेलिरहँदा म्याच फिक्सिङका नाइके पूर्व कप्तान सागर थापाको मन भने विष्फोट हुने अवस्थामा पुगेको थियो । नेपालले राम्रो खेल खेलेपछि अत्तालिएका उनी यतिखेर आफूलाई चोखो सावित गर्ने प्रयासमा छन् ।
त्यसका लागि उनी अरुलाई दोष दिएर पानी माथिको ओभानो बन्न खोजिरहेका छन् । तर, थापाले अरुलाई जति दोष दिएपनि एशियाली फुटबल महासंघ (एएफसी) ले म्याच फिक्सिङको पुष्टि गर्दै उनीसहित गोलरक्षक रितेश थापा, सन्दीप राई, पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई आजीवन प्रतिबन्ध लगाइसकेको छ । एएफसी र म्याच फिक्सिङको अनुसन्धान संलग्न स्पोर्ट ¥याडरको अनुसन्धान र सूचनाका आधारमा नेपाल प्रहरीले उनीहरुलाई पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरु धरौटीमा छुटिसकेका छन् । म्याच फिक्सिङ प्रकरणमा बलियो प्रमाण भनेको खेलाडीले म्याच फिक्सरहरुबाट लिएको पैसा नै हो ।
तर, त्यसलाई थापाले अस्वीकार कसरी गर्न सक्छन् ? खेलाडीको नाममा बिदेशबाट पटक–पटक पैसा आएको अनुसन्धानबाट खुलेको थियो, जुन उनीहरुले स्वीकारेका थिए । वेष्टन यूनियन मनि ट्रान्सफरबाट अञ्जन केसी, रितेश थापा तथा फरार रहेका तत्कालिन फिजियो डेजिब थापाको नाममा पैसा आएको थियो । ६ वटा अन्तराष्ट्रिय खेलमा उनीहरुले म्याच फिक्सिङ गरेका थिए । जसमा खेलाडीले एउटा खेलबाट ५ हजार अमेरिकन डलरसम्म लिएका थिए । सन् २००८ देखि गत वर्ष सम्मका खेलमा म्याच फिक्सिङ भएको अपराध महाशाखाले गरेको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।
सन् २००८ मा मोर्डेका कपमा अफगानिस्तानसँग म्याच फिक्सरको निर्देशनअनुसार २–२ को बराबरी खेलेका थिए । त्यस्तै २००९ को साग च्यामपियनसीप, सन् २०११ म मलेसियासँगको मैत्रीपूर्ण खेल, फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतसँग भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको साफ गेमको फुटबलमा म्याच फिक्सिङ भएको थियो । सबै खेलमा थ्रिस्टार क्लबका पूर्वप्रशिक्षक रहेका अन्जन केसीले नै पैसाको डिल गर्दै आएको खुलेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकमा छ ।
प्रतिक्रिया