उदय शम्शेरले भने - मैले बनाएको बाटोमा हिंडेर भोट माग्नेहरुले भ्रम छर्दैछन्

ललितपुर।  अर्थ राज्यमन्त्री एवम् ललितपुर क्षेत्र नं १ बाट नेपाली कांग्रेस उम्मेदवार उदय शम्शेर राणाले दुर्इ दशक भन्दा लामो समयदेखि ललितपुरको विकासमा सक्रिय रहेको बताएका छन् ।

चुनावी घरदैलो अभियानको क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै राणाले विगतमा चुनाव हारेपनि ललितपुर क्षेत्र न‌ं १ को विकासका लागि निरन्तर लागिपरेको बताए।

 उनले भने, '२०४८ सालदेखि हामी यस क्षेत्रको विकासमा निरन्तर लागिरहेका छौं। जसले विकास गरेको छ उसैलाई अहिले वाम गठबन्धनका उम्मेदवारले केही गरेको छैन भनेर आरोप लगाइरहेका छन्। मैले बाटो बनाएको छु। भूकम्पमा जनताको साथ छु। युवाहरुको साथमा छु।'

 प्रतिद्वन्द्वी नवराज सिलवालप्रति लक्षित गर्दै उनले भने, ‘उहाँले मलाई यस क्षेत्रमा चिनाइरहनुभएको छ। तर, उहाँ अलमलिनु भएको छ। उहाँ भोट माग्दै हिड्नु भएको बाटो मैले बनाएको हुँ। उहाँले आराम गर्ने पाटी मैले बनाएको हुँ, ढुंगेधारा मैले बनाएको हुँ। त्यसैले उहाँले बुझेरमात्र कुरा गर्नु भए राम्रो हुन्थ्यो भन्ने लाग्छ।'

 उनले आफूले जनप्रतिनिधि भएपछि विकासका धेरै काम गरे पनि एउटा काम नगरेको र त्यो भ्रष्टाचार भएको बताए। उनले भने, 'मैले विकासका काममा निरन्तर काम गरेपनि एउटा काम गरेको छैन, त्यो भनेको भ्रष्टाचार हो।' आफूले नगरेको काम वाम गठबन्धनका उम्मेदवारले प्रशस्तै गरेको आरोप लगाए। राणाले भने, ‘सामाजिक सञ्जाल फेसबुक, युट्युबमा हेर्नुस्, मैले नगरेको काम उहाँले प्रशस्तै गर्नुभएको छ।'

 

प्रतिक्रिया

सम्बन्धित