सिलवाल बिरुद्द उम्मेदबारी दिएका गुनबहादुरले गरे यस्तो अपिल

ललितपुर । ललितपुर क्षेत्र नम्वर १ बाट नेकपा एमालेका उम्मेदबार बनेका नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवाल र नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई टक्कर दिने गरी उम्मेदबारी दिएका गुनबहादुर थापाले ललितपुरलाई नै रोज्नु पर्ने कारणबारे निम्न कुराहरुलाई प्रथमिकतामा राखेको उल्लेख गरेका छन् । उनले अाफ्नाे अपिल जारी गर्दै यस्ताे धारणा राखेका हुन् ।

१. जीवन जीउने र समाज परिर्वतन गर्ने क्रममा मैले केही यस्ता व्यक्ति, जो देख्दा सा-है सुन्दर तर मन भित्र जाली, छल कपटले भरिएर अर्काको जीवन समेत बर्बाद गर्दा रहेछन् । अझ राज्यको महत्वपुर्ण र कानुन कार्यान्वयन गर्ने जिम्मा पाएका तर त्यसको दुरुपयोग गर्दै सर्वसाधारणलाई दुःख दिने, झुठ्ठा मुद्दा लगाउने, जेलमा हाल्ने र पैसा असुली गर्ने प्रवृति विरुद्ध मेरो उम्मेदवारी हो । अर्थात नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवालबाट जीवनमा सबैभन्दा बढी पीडित व्यक्ति हुँ । यस्ता व्यक्तिजन प्रतिनिधि भए, जनताले पनि मैले जस्तै पीडा भोग्न बाध्य नहुन भन्न र ललितपुरको विकास र समृद्धीका लागी एक अभियन्ता हुन म ललितपुर प्रतिनिधि सभाको उम्मेदवार भएको हुँ ।

२.  पछिल्लो समय राजनीतिमा आउने व्यक्तिहरु जनता र समाजको हित भन्दा पनि आफु शक्ति र पदमा हुँदा गरेको कुकर्मबाट बच्न आउनेहरुको संख्या बढ्दो छ । शीर्ष नेतालाई पैसा चाहिने र जसले पैसा खर्च गर्न सक्छ उसैलाई उम्मेदवार बनाएर दशकौ देखि राजनीति भविष्य खोज्ने ईमानदार कार्यकर्तालाई अपमान गर्ने प्रवृतिको विरुद्ध पनि मेरो उम्मेदवारी हो । जसले शत्तिमा रहँदा गलत काम गर्छ, उसैसँग पैसा हुने र पैसाले नै सांसद वा जन प्रतिनिधी बन्न खोज्नेले वास्तविक जनताको पीडा र हित गर्न सक्दैन । यो प्रवृतिको पछिल्लो गतिलो प्रमाण नवराज सिलवाल हुन् । एमाले जस्तो लाखौँ योग्य नेता कार्यकर्ता भएको पार्टीमा कुनै योगदान बिनै आफ्नो कुकृत्य ढाकछोप गर्न नवराज सिलवाल रातारात एमालेबाट उम्मेदवार बनेको घाम जतिकै छर्लङ्ग छ । यस्ता नेताले जिते तपाई हाम्रो दुःखमा मलम लगाउने होईन, नेता खुशी पार्दै मिटरब्याजको धन्दालाई फस्टाउन दिने नै पक्का छ ।

.नवराज सिलवाल शक्तिमा छँदा मैले ठूलो क्षति व्यहोरेर अन्यायका लागी पहिलो अध्याय पार गरेँ । अदालतले मलाई न्याय गरेता पनि अझै म माथि अन्याय गर्नेहरुका उपर राज्यले छानबिन गरी कारबाही नगर्नाले कानुनी रुपबाट न्यायको अनुभुति भएता पनि सामाजिक रुपबाट मैले न्याय पाएको छैन । त्यसले, म ललितपुर १ नम्बरका जनताको अदालतमा न्यायका लागी आएको छु । अर्को सौभाग्य कही कतै बाट न्याय पाईन भने जनताको अदालतबाट न्याय पाउछु भन्ने विश्वासका साथ लडेको थिए । त्यो अवसर आज मैले ललितपुर १ का जनताबाट पाएको छु । अब को सही र गलत भन्ने कुराको फैसला पनि त्यहीँको जनताले गर्नेछन् । सिलवालले पनि आफ्नो सफाई दिन पाउनुपर्छ । म पनि आफुले गरेका राम्रा र नराम्रा काम के हो भन्ने बारेमा जनताको माझमा आएको छु । राज्यले सिलवालले किर्ते गरेको भनेको छ, सिलवाल ले हैन भनेका छन् । सिलवालले म माथि चरम अन्याय गरेका छन् । सिलवाल हैन भन्छन्, म प्रमाण सहित राज्य, न्यायलय हुँदै जनताको अदालतमा आएको छु । सिलवाल उच्च सरकारी पदमा रहेर म र म जस्तालाई चरम अन्याय र शोषण गर्दै आफ्नो महत्वकांक्षा पुरा नभएपछि भ्रष्टचार गरेको पैसा र राजनैतिक संरक्षणमा जनताका सामु शफेद झुठ बोलि रहेका छन् । त्यसैले सिलवालसँग दोस्रो अध्यायको नीतिगत लडाई लड्दै फैसला जनताको हातमा सुम्पिएको छु ।

आदरणीय मतदाता साथीहरु,

 -  म केबल एउटा व्यक्तिलाई विरोध गर्दै हराउन र अर्कोलाई समर्थन गर्दै जिताउन उम्मेदवार भएको होईन । ललितपुरका तपाई आम मतदाता जो सत्य र न्यायको पक्षमा हुनुहुन्छ त्यो भावनालाईअझै उचाईमा पु-याउन र तपाईको सुख दुःखमा साथ दिन स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्दै तपाई सामु मत माग्न आएको छु । राजधानी काठमाडौँसँग जोडिएको जिल्ला ललितपुर भएपनि प्रतिनिधी सभा १ नम्बर निकै पछाडि छ । दैनिक जीवनयापनका लागी समेत निकै कष्ट र दुःख गर्नुपर्ने अवस्था छ । शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, बाटो विकास र पाहुँचका दृष्टिले उपयुक्त नभएकाले यसको विकास गर्न एक अभियन्ताको रुपमा म तपाईहरु सामु उभिएको छु । जनताका आर्यआर्जनलाई शुद्धिकरण गरी आत्म निर्भर बनाई स्वाबलम्बी नागरिक बनाउन मेरो प्रयास र प्रयत्न हुनेछ ।

- जबसम्म शिक्षा र स्वास्थ राज्यको प्राथमिकतामा पर्दैन तबसम्म तपाई हामीमा धनी र गरिबको बिच खाडल रही रहन्छ । त्यसैले शिक्षा र स्वास्थ्यलाई सबै नागरिकको पहुँचमा पुग्ने र निशुल्क बनाउन मेरो प्रयास र प्रयत्न हुनेछ । तपाईका हरेक सुख–दुःखमा साथ दिन र तपाईको भावनालाई कदर गर्दै मुलुक विकासमा टेवा पु-याउनु मैले कर्तव्य ठानेको छु । असल मान्छे त्यो हो जसले जनताको भावना बुझ्छ र आत्मसाथ गर्दै कर्तव्यपरायन गर्छ । मानिसको नियत सफा भयो भने सोचे भन्दा राम्रो काम गर्नसक्छ भने खराब नियत भयो भने अवसर खोज्दै जनमतलाई लत्याउन थाल्छ । म तपाईहरुसँग छातीमा हात राखेर भन्छु, 'तपाईहरुको सेवा गर्ने मौका पाए भनेँ म भ्रष्टचार गर्दिन र जनमतलाई अपमान हुन पनि दिँन्न ।'

-  सात दशकको नेपाली जनताको चाहना बल्ल संविधान सभाबाट संविधान बनी कार्यान्वयनको चरणमा छौँ । यो बेला जनताको भावना र मर्का बुझ्न सक्ने जन प्रतिनिधी भएन भने संविधान कार्यान्वयन त हुँदैन नै, विगतमा जस्तै दुःख र पीडा भोग्नुपर्ने हुनसक्छ । एउटा सामान्य किसान परिवारको छोरो, जो कहिल्यै लाभको पदमा पुगेन। तर सेवा गर्ने भावले अन्याय र अत्याचार विरुद्ध लड्दै तपाई सामु आईपुगेको छु । त्यसैले मेरो जिम्मेवारी संविधान कार्यान्वयन गर्दै तपाईका चाहना बमोजिम विकास निर्माणमा जुट्नु मैले कर्तव्य ठानेको छु । त्यसैले मंसिर २१ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा तपाईहरुले शंख चिन्हमा मतदान गरी मलाई अत्याधीक बहुमतले विजयी गराई दिनुहुन दश औँला जोडी नमन गर्दछु ।

 

प्रतिक्रिया

सम्बन्धित