सप्तरी :
आन्दोलनकारी र सुरक्षाकर्मीबीच सप्तरीको भारदह र रुपनीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ। रातीको सवारी स्कर्टिङ रोक्न गाउँ गाउँबाट राजमार्गमा भेला भएका आन्दोलनकारीले घरेलु हतियारसहित राजमार्गमा प्रदर्शन गरेपछि प्रहरीले बाध्य भएर गोली चलाएको हो । मृत्यु हुनेमा सप्तरी गाढा–९ का वीरेन्द्र राम र जमुनी मधेपुर–७ का नागेश्वर यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
झडपमा परी रुपनीमा १० र भारदहमा १० आन्दोलनकारी घाइते भएको जानकारी उनले दिए। उनीहरुको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुरका अनुसार बिहानैबाट सप्तरीको भारदह क्षेत्रमा आन्दोलनकारीको रवैया उग्र थियो। राति आन्दोलनकारीसँग संख्या बढी भएको लाभ उठाउँदै प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरी भीड तितरबितर पारेको थियो। केही समयपछि आन्दोलनकारी फेरि एकत्रित भइ ईलाका प्रहरी कार्यालय रुपनी र भारदह लक्षित गरि आक्रमण सुरु गरेपछि प्रहरीले आत्मरक्षामा गोली चलाउँदा आन्दोलनकारीलाई गोली लागेको प्रजिअ ठाकुरले बताए।
प्रतिक्रिया