पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली, आजै चार बजेपछि अन्त्यष्टि गरिने

काठमाडौं : एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार असमायिक निधन भएपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ । श्रद्धाञ्जलीका लागि माओवादीलगायत विभिन्न दलका नेताहरू तथा आफन्तहरु पेरिस डाँडा पुगेका छन् । हृदयघातका कारण आज विहान मृत्यु भएका दाहालको पार्थिव शरिरलाई केही समय अघि नर्भिक अस्पतालबाट पेरिसडाँडा पु¥याईसकिएको छ । दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिएकोमा अपराह्न्न चार बजेपछि दहालको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड छोराको निधनको खबर पाए लगतै काठमाडौं आएका छन् । प्रकाशको निधनपछि प्रचण्ड परिवार शोकमा छ । आमा सीता दाहाल अस्पताल समेत आउन सकेकी छैनन् । चुनाव प्रचारका क्रममा झापामा रहेका प्रचण्ड छोराको निधनको खबर पाए लगतै हेलिकोप्टरबाट काठमाडौं आएका हुन् । प्रकाशकी पत्नी सिर्जना त्रिपाठी विहानै छोरासहित अस्पताल पुगेकी थिइन् । उनी अहिले बेहोस भएकी छन् र अस्पतालमा उपचार भइरहेको छ ।

 

चुनाव प्रचारका लागि कञ्चनपुरमा रहेकी अर्की पत्नी विना मगर पनि आएकी छन् ।अस्पताल पुग्दा उनी भावविहल थिइन् ।अन्य आफन्तहरू र राजनीतिक दलका नेताहरू समेत प्रकाशको निधन भएपछि काठमाडौं केन्द्रित भएका छन् ।प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयाघात’बाट भएको नर्भिक अस्पतालले जनाएको छ । प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको थियो । प्रकाशलाई विहान साढे ५ बजे अस्पताल पुर्‍याइएको थियो । अस्पतालले पत्रकार सम्मेलन नै गरेर दाहालको मृत्युको औपचारीक जानकारी गराएको हो । डा. जेपी जैसलवालले भने–‘उहाँको हात चिसो भइसकेको थियो । पल्स थिएन । स्वास स्वासप्रवास बन्द भइसकेकाे थियाे भने शरीर पनि कडा भइसकेको थियो ।’ चिकित्सकहरुले विहान करिव ६ बजे नै प्रकाशको निधन भएको घोषणा गरेका थिए ।

अस्पताल ल्याउनु करिव ३ घन्टा अघि नै प्रकाशलाई आकस्मिक हृदयाघात भएको चिकित्सकहरुको अनुमान छ । डा। जैसवालले भने–‘शरीर कडा भइसकेकाले अस्पताल ल्याउनु करिव तीन घन्टा पहिले नै मृत्यु भएको हुनसक्छ ।’ चितवनमा रहेका प्रकाश अस्वस्थ रहेकाले बाबु प्रचण्डसँग झापा नगई काठमाडौं आएका थिए । पारिवारिक स्रोतका अनुसार शनिबार राति ८ बजेतिर उनले आफूलाई ज्वरो आएको बताएका थिए । कञ्चनपुर १ मा उम्मेदवार भएका कारण पत्नी विना पनि काठमाडौंमा थिइनन् ।

घरमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । बेलुका आमा र भाञ्जीहरुसँग बसेर खाना खाएको प्रकाश आइतबार बिहान चााडो नउठेपछि आमा सीता दाहाल हेर्न जाँदा अचेत अवस्थामा भेटिएका हुन् । लगतै उनलाई गाडीमा राखेर नर्भिक अस्पतालमा पुर्‍याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित