नाका खुलेको भनिएपनि अबरोध कायमै

teltकाठमाडौंः भारतले  गर्दै आएको अघोषित नाकाबन्दी केही खुकुलो भएको छ । नाकबन्दी केही खुकुलो भएपछि पूर्वी नाकाबाट ७० बढी कन्टेनरहरु नेपाल भित्रिएका छन् । मेची भन्सार कार्याललयका अनुसार शनिबार राति साढे १० बजेसम्म नाकाबाट कन्टेनरहरु भित्रिएका थिए  भने आइतबार बिहानसम्म ७० बढी कन्टेनरहरु भन्सार परिसरमा रहेको भन्सार प्रमुख भीम अधिकारीले जानकारी दिए । यता भैरहवा–सुनौली नाकाबाट ग्यासका दुई बुलेट, २ डिजेल ट्यांकर, एक पेट्रोल ट्यांकरसहित १० वटा मालबाहक ट्रक नेपाल भित्रिएका छन्  भने ग्यासका तीन बुलेटर भित्रिने तयारीमा छन् । भन्सारका अनुसार ग्यास, क्लिङकर, जिप्सम, कपडा, इलेक्ट्रिक सामानलगायत अन्य सामान बोकेका कन्टेनर भित्रिएका छन् । पेट्रोल भर्न गएका २० ट्याङकर तेल भर्ने प्रक्रियामा भारतीय आयल निगमको सिलिगुडी डिपोमा अड्किएर बसेको छ । पहिला एसएसबीले  एउटा कन्टेनर जाँच गर्न २ देखि ३ घण्टा लगाउँदै आएकोमा अहिले आधा घण्टाभित्रमा जाँच गरेर छाड्न थालेको व्यवसायीको भनाई छ । यसैगरी नेपालगञ्ज–रुपैडिहा नाकाबाट पनि गएराति १० वटा पेट्रोल ट्याङ्कर नेपाल भित्रिएका छन् । गएराति करिव ९ बजेतिर भारतीय भन्सारले पेट्रोल बोकेका ट्याङ्कर छाडेको हो । तर, भारतले नेपालतर्फको आपूर्ति सहज बनाउन निर्देशन दिएको बताए पनि अझै अघोषित नाकाबन्दी व्यवहारिक रुपमा अझै हटेको छैन । नेपालमा घोषणा भएको संविधानमा मधेसका केही मुद्दा सम्बोधन नभएको भन्दै छिमेकी मुलुक भारतले झण्डै दुई सातादेखि नाकाबन्दी गरिरहेको छ । भारतले नाकाबन्दी खोलेको समाचार आए पनि आइतबार भारतीय सीमानाकाहरुको समाचार सुखद बन्न सकेको छैन । शनिबार एकाएक भारतले नाकाबन्दी हटाएको खबर आएको सरकारी अधिकारीहरुले नै बताए । आपूर्तिमन्त्री सुनीलबहादुर थापाले सोमबारबाट भारतले इन्धनसहितको आपूर्ति सहज बनाउने खबर आएको जनकारी दिएका थिए । तर, व्यवहारिकरुपमा भने सीमानाकाहरुमा भारतीय असहयोग कायमै रहने देखिएको छ । नाकाबन्दीको मुख्य असर इन्धन आपूर्तिमा परेको छ, र यो सहज नभएसम्म व्यवहारिक रुपमा भारतीय नाकाबन्दी कायमै रहन्छ । नेपाल भारत आयात–निर्यातको मुख्य भन्सार नाका वीरगञ्जको रक्सौल अझै खुलेको छैन । नेपालतर्फ मधेसी मोर्चाको धर्ना कायमै छ भने भारतीय पक्षको अवरोध पनि कायमै छ । नेपाल आयात निर्यातको करिव ७० प्रतिशत रक्सौल नाकाबाट मात्रै हुने गरेको छ । वीरगञ्जको अवरोध नहट्नु भनेको भारतको अघोषित नाकाबन्दी व्यवहारिक रुपमा कायमै रहनु जस्तै हो ।

प्रतिक्रिया

सम्बन्धित