राजश्व अनुसन्धानमा अझै भरत सुवेदीको सेटिङ

bharat subediकाठमाडौं । विवादास्पद सहसचिव भरत सुवेदी बैदेशिक रोजगार विभागको महानिर्देशक हुन् । तर, उनले त्यहिंबाट अर्काे विभाग पनि चलाउँछन् । अर्थ मन्त्रालय अन्र्तगतको निकै महत्वपूर्ण राजश्व अनुसन्धान विभाग उनै सहसचिव सुवेदीले चलाउँदै आएका छन् ।  हालै अर्थमन्त्रालयले राजश्व अनुसन्धान विभागमा महानिर्देशक रामशरण चिमोरियालाई पठाएको छ । उनै सुवेदीको डिजाइनमा चिमोरियालाई महानिर्देशक बनाइएको हो । लामो समय सिडिओ भएर काम गरेका चिमोरियालाई राजश्व अनुसन्धानबारे खासै ज्ञान छैन । हालै दिएको एक अन्र्तवार्तामा पनि विभागलाई न्यून बिजिकरणबारे अनुसन्धान गर्ने अधिकार आफुलाई नभएको भन्दै बोलेपछि अर्थ मन्त्रालयका कर्मचारीले उनको मजाक उडाएका थिए । किनकी त्यससम्बन्धि अधिकार विभागलाई नै छ ।

 जति पैसा दियो त्यसैमा चित्त बुझाउने र सुवेदीले भनेको जे भने त्यही मान्ने भएकाले उनलाई महानिर्देशक बनाइएको हो । चिमोरियालाई महानिर्देशक बनाएर असुली र सेटिङका कामहरु सुवेदीले नै गर्दै आएका छन् । उनले आफु निकट उपसचिव मदन दाहाल र केशब भण्डारीलाई विभागको निर्देशक बनाएर राखेका छन् । त्यस्तै सुवेदीका बिश्वासपात्र अधिकृत रघुनाथ घिमिरे र नासु उद्धव राउत ६ वर्षदेखि विभागमा कार्यरत छन् । उनीहरुले सबै काम सुवेदीकै निर्देशनमा गर्दै आएका छन् ।

 छानबिनका नाममा व्यापारीहरुलाई तर्साउने र असुल्ने काम विभागबाट हुँदै आएको छ । यसमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको समेत मिलेमतो रहेको स्रोत बताउँछ । विभागमा सहसचिव सुवेदीकै बहिनी ज्वाई लोकनाथ दाहाल लेखा अधिकृत छन् । विभागमा लेखा अधिकृतले महिनामा ५ लाख भन्दा धेरै कमाउँछन् । त्यस्तै अख्तियारका पूर्व सचिव मात्रिका भट्टराईलाई पनि असुलीकै डिजाइनअन्र्तगत विभागमा राखिएको छ । विभागले हाल ३८ करोड खर्च गरेर नयाँ भवन बनाउन लागेको छ भने गाडी खरिदका लागि १० करोड रुपैयाँ बजेट आएको छ । त्यही बजेटमा हिनामिना गर्न ठूलो खेल भइरहेको स्रोत बताउँछ ।

 उक्त बजेट हिनामिना गर्न निर्देशक तिर्थराज खनाल अवरोध हुने देखेपछि प्रमुख आयुक्त लोकमानसिंह कार्कीकै निर्दशेनमा उनलाई सरुवा गरिएको मन्त्रालय स्रोत बताउँछ । लोकमान आफैले अर्थसचिव सुमन शर्मालाई फोन गरेर खनाललाई त्यहाँबाट सरुवा गरेका थिए । उपसचिव खनाल लोकमानको गलत गतिविधिविरुद्ध खुल्ला रुपमा उत्रदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित